एउटा फुटबलरले मैदानमा सक्रिय फुटबल खेल्ने उमेर सामान्यतः ३५ वर्षसम्म हो । अझ अधिकांश खेलाडीले ३० लाग्दा नलाग्दै सक्रिय फुटबलबाट सन्यास लिने गर्छन् । जापानका काजुयोसी मिउरालाई भने मैदानमा उत्रन उमेरले छेकेको छैन ।
आगामी फेब्रुअरी २६ तारिख ५३ औँ वर्षगाँठ मनाउन लागेका काजुले मङ्गलबार मात्र जापानको शीर्ष डिभिजन लिग (जे लिग) खेल्न क्लब योकोहामा एफसीसँग सम्झौता नविकरण गरेका छन् । उमेरले नाती नातिना खेलाउने समयमा काजुको यस जोसले विश्वभरका फुटबल सर्मथकलाई चकित तुल्याएको छ ।
जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर काजु ३५ वर्षदेखि निरन्तर मैदानमा खेलिरहेका छन् । उनको खेल्ने शैली र क्षमतामा रत्तिभर कमी आएको छैन । काजु क्लब फुटबलमा व्यवसायिक खेल खेल्ने विश्वकै पाका खेलाडी हुन् । काजुले अब मैदान छोड्लान् भनेर सोच्ने सर्मथकको अनुमानलाई उनले फेरि चस्का दिएका छन् ।
काजुले ३८ वर्षको उमेरमा सन् २००५ देखि योकोहामाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । त्यसअघि उनी सन् २००१ देखि जापानकै भिसेल कोवेमा थिए । मङ्गलबार फेरि योकोहामा क्लबसँग एकवर्षे सम्झौता थपेका काजुले आफु ६० वर्ष नपुगुन्जेल मैदानमा सक्रिय फुटबल खेलिरहने बताए । ‘अहिले नै सन्यास लिनु हतार हुनेछ । फिट रहनका लागि मैले हरेक दिन मेहनत गरेको छु । मेरो लागि यो नै गर्वको कुरा हो । म अझै फुटबलमा रमाउन चाहन्छु । टोलीका लागि सक्दो प्रयास गर्नेछु,’ काजुले भने ।
काजुले सन् २०१७ मानै व्यावसायिक लिग फुटबल खेल्ने विश्वकै सबैभन्दा पाको खेलाडीको कीर्तिमान बनाएका थिए । त्यसअघि उक्त कीर्तिमान इङ्ल्यान्डका स्टानली म्याथ्युजको नाममा थियो । काजुसँगै फुटबल सुरु गरेका खेलाडीहरुले मैदान छाडेको वर्षौ भयो । तर, सन् १९८६ मा पहिलो पटक व्यावसायिक लिग खेल्दा काजुको जोश जस्तो थियो, अहिले पनि त्यस्तै छ । इटालीका चर्चित पूर्व फुटबलर रोबर्टो बाजियो र काजु एकै समयमा जन्मिएका हुन् । उनीहरुले फुटबल खेल्न पनि सँगै सुरु गरेका थिए । तर, बाजियोले सन् २००४ मै फुटबल मैदानलाई बाईबाई गरेका थिए ।
काजुले फुटबलको कला ब्राजिलबाट सिकेका हुन् । १५ वर्षको उमेरमा ब्राजिल गएका उनले सान्तोषबाट ब्यवसायिक फुटबल खेले । त्यसपछि उनले ब्राजिलकै पाल्मिरसबाट खेले । सन् १९९३ मा जापानमा पहिलो पटक लिग फुटबल सुरु भयो । त्यसपछि काजुले क्लब भर्डी कावासाकीबाट खेले । उनको टोली पहिलो वर्षनै च्याम्पियन बन्यो । त्यतिबेला उनी सर्वाधिक गोलकर्ता भए ।
काजुले पछि युरोपमा इटालियन क्लब जेनोआ, क्रोएसियाको डाइनामो जाग्रेब र अस्ट्रेलियन क्लब सिड्नी एफसीबाट पनि व्यावसायिक फुटबल खेले । सन् १९९० देखि सन् २००० सम्म जापान राष्ट्रिय टोलीका प्रमुख खेलाडी काजुले जापानका लागि ८९ खेल खेल्दै ५५ गोल गरेका छन् । सन् १९९८ मा जापानलाई पहिलो पटक विश्वकप फुटबलमा पु¥याउन काजुको योगदान ठूलो थियो ।