रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका–१, बैरगनियामा पञ्चवर्षीय गढीमाई मेलाको विधिवत् रूपमा उद्घाटन भएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादव (जितेन्द्र)ले मेलाको उद्घाटन गर्नुभयो।
प्रमुख अतिथिका रूपमा मन्त्री यादवले गढीमाई मेलाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै यसले धार्मिक सहिष्णुता र एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवाहरू, र टाढा–टाढाबाट आएका भक्तजनहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मेलाको व्यवस्थापन र आगामी गतिविधिहरूबारे पनि जानकारी गराइएको थियो।
पाँच वर्षमा एक पटक आयोजना हुने गढीमाई मेला क्षेत्रीय सांस्कृतिक सम्पदाको धरोहर मानिन्छ। यसले स्थानीय व्यवसाय, पर्यटन, र धार्मिक क्रियाकलापलाई टेवा पुर्याउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
मेलामा सहभागी भएका भक्तजनहरूले गढीमाई मन्दिरमा पूजा-आराधना गरेका छन् भने मेलाको क्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ।