रौतहट– जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरजस्ता उपकरणहरूको प्रयोग गर्ने प्रचलन सामान्य भए पनि यस्ता उपकरणहरूको सावधानीपूर्वक प्रयोग नगर्दा स्वास्थ्य जोखिम बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा आवश्यक सावधानी नअपनाउँदा हरेक वर्ष मानिसहरूको मृत्यु र अस्पताल भर्ना हुने घटनाहरूमा वृद्धि भएको बताएको छ।
मन्त्रालयका अनुसार, यस्ता उपकरणहरूको प्रयोग गर्दा हावा संचालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड (CO) ग्यास जम्मा हुने खतरा रहन्छ। गन्ध, रंग र स्वादरहित यो विषाक्त ग्यास लामो समयको सम्पर्कले ज्यानै लिन सक्ने चेतावनी मन्त्रालयले दिएको छ।
मन्त्रालयले निम्न सावधानीहरू अपनाउन सबैलाई अनुरोध गरेको छ । कोइला आधारित स्रोतबाट आगो नताप्न। हिटर र गिजर चलाउँदा हावा ओहोरदोहोरको सुनिश्चितता गर्न। आगो ताप्दा कागज, कपडा वा अन्य छिटो जल्ने सामग्री नजिक नराख्न। गिजर लामो समयसम्म नचलाई बाथरुममा रहन नबस्न। टाउको दुख्ने, रिंगटा चल्ने वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्तै झ्याल-ढोका खोल्न, खुला ठाउँमा जान र आवश्यक परेमा अस्पताल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। थप जानकारीका लागि मन्त्रालयले हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
डा. प्रकाश बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले यस्तो लापरवाहीले गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै सावधानी अपनाउन सबैमा अपिल गरेका छन्।