मानसिक स्वास्थ्य समस्याका लक्षण, समाधान के ?

3315

मानसिक स्वास्थ्य,स्वास्थ्यको एउटा अभिन्न अंग हो। जसरी शारीरिक रूपमा स्वस्थ रहन जरुरी छ, त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु जरुरी छ।

सबै स्वास्थ्य समस्यालाई आधार मान्ने हो भने मानसिक स्वास्थ्यले एक तिहाइ भाग ओगटेको छ।

मानसिक स्वास्थ्य समस्या बालबालिकादेखि वृद्धवद्धासम्मकालाई हुन सक्छ।

मानसिक रोग दुई प्रकारका हुन्छन् : एन्जाइटी डिप्रेसन लगायतका समस्या सामान्य समस्या हुन् भने अर्को जटिल प्रकारको मानसिक रोग हुन्छ।

मानसिक स्वास्थ्य समस्याको कारण

मानसिक स्वास्थ्य समस्या विभिन्न कारणले हुन सक्छ।

यसको एउटा प्रमुख कारण वंशाणुगत हो। त्यस्तै शरीरमा न्युरो केमिकल्सहरूमा घटबढ भयो भने पनि मानसिक समस्या हुनसक्छ। तनावसँग सामना गर्न नसक्ने क्षमताले गर्दा पनि मानसिक समस्या हुन्छ। अर्को सामाजिक कारणले गर्दा हुन्छ। जस्तै: विभिन्न खालका सम्बन्धमा समस्या आउनु,पारिवारिक कारण,आर्थिक कारणले पनि मानसिक समस्या देखिन्छ। विद्यार्थीहरूमा पढाइको समस्याले पनि यस्तो समस्या देखिन सक्छ। समस्या त सबैलाई हुन्छ तर त्यससँग लड्न सक्ने क्षमता बढाउन जरुरी छ।

मानसिक स्वास्थ्य समस्याका लक्षण:

-डर लाग्ने

-निन्द्रा नलाग्ने

-भोग नलाग्ने

-निराशापन

-खुसी नहुनु

-अनौठा विचार आउने

-खानमा रुची नहुने

-हातखुट्टा झमझम हुने

-टाउको,छाती र पेट दुख्ने

-लामो लामो स्वास लिने

-एउटै कुरा दोहोर्याइरहने

-व्यवहारमा परिवर्तन हुने

-कमजोर महशुस गर्ने

-आत्महत्या गर्ने विचार आउने

उपचार कसरी गर्ने

यसको लगि विशेषज्ञकहाँ नै जानुपर्छ। कतिपय ठाउँमा विशेषज्ञ नहुन सक्छन् त्यस्तो बेलामा स्वास्थ्यकर्मीकहाँ गएर भए पनि सहयोग माग्नुपर्छ।

औषधि लिएर वा काउन्सिलिङ गरेर यो रोग निको हुन्छ। दुवै गर्न सकियो भने अझै चाँडै निको हुन्छ। विज्ञहरूसँग कुरा गरेर तनाव व्यवस्थापन गरेर पनि निको पार्न सकिन्छ। औषधि र ‘साइको थेरापी’ सँगै गर्यो झन् चाँडो निको हुन्छ भनेर विज्ञानले पनि भनेको छ।

मानसिक समस्याबारे केही भ्रम

मानसिक रोग दीर्घकालसम्म हुन्छ,कहिल्यै निको हुँदैन भन्ने भ्रम छ, यो गलत हो।

मानसिक समस्या भएका मानिस पागल हुन् भन्ने पनि गलत धारणा हाम्रो समाजमा रहेको छ।

औषधि खायो भने बानी पर्छ, त्यसैले कहिल्यै पनि नखानु भन्ने गरिन्छ,जुन कुरा गलत हो।

यो रोग पनि अरु रोग जस्तै औषधिले निको हुन्छ। अलि अलि सामान्य तनाव सबैलाई हुन्छ। तर यसले हाम्रो दैनिक रुटिङलाई हानी गर्न थाल्यो भने यसलाई रोग भनिन्छ। यसलाई समयमै उपचार गरियो भने यो निको पनि हुन्छ।

अर्को भ्रम काम गर्न सक्दैन भन्ने छ। यो पनि होइन। यो रोग भएकाहरूले औषधि खाएर काम गर्न सक्छ्न्। आफ्नो दैनिक जीवन जिउन सक्छन्। जतिसक्दो छिटो उपचार गर्यो भने यो रोगले केही बाधा पुर्याउँदैन। जटिल र सामान्य खालका सबै मानसिक समस्याको उपचार संभव छ तर अलिकति समस्या आउनसाथ मान्छे डराउँछन्।

अहिले त धेरै सचेतना आइसकेको छ। जसलाई लागेको छ उसले पनि अगाडि आएर भन्न थालेको छ। यो निको हुन्छ भन्न सक्यो भने अरुलाई पनि सहयोग हुन्छ।

लापरबाही गर्यो भने के हुन्छ ?

लापरबाही गरियो भने यो रोग बढ्दै जान्छ। निको हुँदैन झन् उसैलाई गाह्रो हुँदै जान्छ। ऊ अनौठा कुरा सोच्न थाल्छ, रातभरि बेचैन हुन्छ। उसलाई त गाह्रो हुन्छ हुन्छ,परिवारको मान्छेलाई पनि गाह्रो हुन्छ। यसलाई उपचार गरेर निको हुन्छ भने किन नगर्ने?

आजकल त मान्छे आफैं आउछन् तर गाउँघरमा अझै पनि समस्या छ।