रौतहट । रौतहटको इशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीको पहलमा प्रोटेक्सन नेपालबाट प्राप्त स्वास्थ्य सामग्री बर्थिङ सेन्टरहरूमा हस्तान्तरण गरिएको छ । सोमवार एक विशेष कार्यक्रमबीच नगर प्रमुख देवीको उपस्थितिमा बर्थिङ सेन्टर औरैया तथा डुमरियालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले ३२ प्रकारका अत्यावश्यक औजारहरू हस्तान्तरण गरिएको जानकारी दिए । उनले भने नगरपालिकाको स्वास्थ्य सेवालाई सशक्त बनाउन र विशेष गरी मातृ तथा शिशु स्वास्थ्य सुधार गर्न औजारहरू उपयोगी हुनेछन् । सुरक्षित प्रसूति सेवा प्रवाह सहज बनाउन नगरपालिका प्रतिबद्ध छ ।
नगर प्रमुख कौशल्या देवीले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित मातृत्व सेवा उपलब्ध गराउने उद्देश्यले अभियान अघि बढाइएको बताइन् । उनले भनिन् हाम्रो नगरपालिकाका महिलाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले हामी निरन्तर लागिरहेका छौं । हस्तान्तरणपछि बर्थिङ सेन्टरहरूमा आवश्यक पर्ने औजारको अभाव हुँदैन र स्वास्थ्यकर्मीहरूलाई सेवा दिन थप सहज हुनेछ । नगरपालिकाले हस्तान्तरण गरेको ३२ प्रकारका औजारहरूमा डेलिभरी टेबल, रक्तचाप मापन यन्त्र, स्टेथोस्कोप, नर्मल डेलिभरी सेट, नवजात शिशु हेरचाह किट, सलाइन स्ट्यान्ड, हेमोग्लोबिन जाँच उपकरण लगायतका सामग्री समावेश छन् । सामग्रीहरूले बर्थिङ सेन्टरहरूमा सुरक्षित प्रसूति सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामग्री पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
नगर प्रमुख कौशल्या देवीका अनुसार आउँदा दिनहरूमा स्वास्थ्य संस्थाहरूमा थप उपकरण तथा जनशक्ति व्यवस्थापन गर्दै गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिने लक्ष्य राखिएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम स्थानीय समुदायका प्रतिनिधि, स्वास्थ्य शाखाका रबिन्द्र झा, स्वास्थ्यकर्मी तथा नगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।