मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता प्रहार , ४ जना पक्राउ

1122

जनकपुर// जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लगायत केही मन्त्रीको तस्बिरमाथि जुत्ता प्रहार भएको छ। गत आर्थिक वर्ष २०७५।०७६ मा प्रदेश २ सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्री अंकित व्यानरमा जुत्ता प्रहार भएको हो।

उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले शुक्रबार जनकपुरको जिरोमाईलमा मुख्यन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह र उद्योग,वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायको तस्बिर छापिएको ब्यानर टाँगेर जुत्ता चप्पल प्रहार गरेर विरोध गरेका छन्।

त्यस क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। मुख्यमन्त्री लगायत मन्त्रीहरुकाे तस्बिर रहेकाे ब्यानरमा जुत्ता चप्पल हान्दै नारावाजी गर्न थालेपछि प्रहरीले संघर्ष समितिका रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसअघि उपभोक्त समितिका पदाधिकारीहरुले बाँकी बक्यौता भूक्तानी माग्दै भौतिक पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका थिए। त्यस पश्चात दुई साता अघि प्रदेशसभा अगाडिसमेत उनीहरुले विरोध प्रदर्शन गरेका थिए।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। भुक्तानीको कारण प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा आवरुद्ध गरेपछि अहिले अनिश्चितकालको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ।

मापदण्ड विपरीत विकास निर्माणको काम भएको भन्दै मन्त्रालयका कर्मचारीहरु आफू फस्ने डरले भुक्तानी नदिने अडानमा छन्।

नेपालखबर