हो म अझै पनि पत्रकारनै छु l

203

हो, म पत्रकार थिएँ – अनि अझै पनि छु। फरक यत्ति हो कि अहिले मेरो कलमको मसीभन्दा चिया पसलको उधारो बाक्लो छ। समय संगै बढेको पारिवारिक जिम्मेवारि भारि छ l
धेरै पुरानो कुरा होइन, मेरो गिन्ती पनि जिल्लाको चर्चित पत्रकारकै रुपमा गरिन्थ्यो l म घन्टौ लेख्थे, घन्टौ बोल्थे l म गाउ बस्ति डुल्थे l कथा सुन्थे,लेख्थे l
नाम कमाएँ, चर्चा कमाएँ, केही प्रमाणपत्र र सम्मानपत्र पनि कमाएँ। मेरो पत्रकारिता शैलीको प्रसंसा गर्ने केहि थान पात्रहरु पनि थिए l
तर समय संगै , एकदिन मेरो पेटले प्रश्न गर्‍यो –
“नामले भोक मेटिन्छ?”
म स्वभावले पत्रकार हो l पत्रकारिताको माया कहिल्यै घटेन,
जिमेवारी बोध र आर्थिक उपार्जनको लागि मेरो सक्रियता घट्दै गएको साचो हो l
हिजो म माइक लिएर जनताको आवाज उठाउँथे,
आज म आफैं भित्रभित्रै चिच्याइरहेको छु –
“के म मात्रै आवाज उठाउँछु? मेरो आवाज सुनिदिने कोही छैन?”
केहि बैठकहरूमा अझै बोलिन्छ –
“पत्रकार समाजको ऐना हो!”
तर ऐना हेर्दा आफ्नै अनुहारमा थकाइ, चिन्ता र निराशा पनि त् देखिनु भएन नि ।
पत्रकारिता प्रेम हो, सेवा हो, साहस हो मेरो लागि l मेरो पत्रकारिताका केहि मर्यादाहरु छन्, केहि धर्महरु छन् l आजको पत्रकारिता प्रश्न हराएको पत्रकारिता हो l पत्रकारको प्रश्न हराए पछी समाजका सिमान्तकृत बर्ग अवाज बिहिन महसुस गर्दैछन l यो अवस्थामा म संग धेरै बिकल्पहरु रहेन l प्रश्न बोकेर पत्रकारितामै रमाउने उत्तम बिकल्प हुदा हुदै पनि मैले पत्रकारितालाई दोस्रो पेशाको रुपमा छान्ने अप्रिय निर्णय गरे l यो निर्णय व्यक्तिगत रुपमा मेरो लागि सुखद थिएँ, छैन l
पहिला मलाई देख्नेबित्तिकै मान्छे भन्थे – “पत्रकार आयो, हेर-हेर!”
अहिले भन्छन् – “पत्रकार हो रे! अझै पनि त्यही गर्दैछ?”
त्यसैले आजभोलि पत्रकारिता “प्रेम” जस्तै भएको छ – भावना छ, स्थायित्व छैन। म अझै पनि पत्रकार भन्ने गर्व गर्छु, किनभने म जान्दछु – यो पेसामा मान्छे नाङ्गो सत्य बोल्छ, चाहे उसको झोलिमा एक रुपैयाँ पनि नहोस्।
राम्रोसँग लेख्न सक्ने हात छ, तर लेख्दै जाँदा कलमले पनि सोध्छ –
“अब लेखेर त तैंले के पाउँछस्?”
अनि हाँसो आउँछ,
व्यंग्य आफ्नै ज्यानमा गर्दा नि मिठास हुन्छ,
किनकि म पत्रकार हुँ – र पत्रकारिता मेरो चिनारी मात्र होइन,
मेरो भोक, मेरो व्यथा, र मेरो व्यंग्य पनि हो!
तर फेरी पनि भन्छु आज पनि म पत्रकार हुँ।