रौतहट, असार १५ गते – बौधीमाई नगरपालिकाले वैवाहिक जीवनको दीर्घता र सामाजिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको २० वर्षपारी विवाह वारी कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बीच योग्य दम्पतीलाई बीस हजारका दरले आर्थिक सहयोग स्वरूप चेक वितरण गरिएको छ।
नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा चेक हस्तान्तरण बितरण गरेको छ । कार्यक्रममा नगर उपप्रमुख प्रमिला देवी जयसवाल विशिष्ट अतिथिका रूपमा, र प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी विशेष उपस्थितिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष मुक्ति नारायण मिश्रा, वडा नं. ४ का वडा अध्यक्ष तुरन्त नारायण यादव, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मि नारायण राय यादव लगायत नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।
नगर प्रमुख यादवले दीर्घकालीन वैवाहिक सम्बन्धलाई सम्मानस्वरूप प्रदान गरिने सहयोगले समाजमा स्थायी सम्बन्धप्रतिको विश्वास अझै बलियो हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।
यस कार्यक्रमले समुदायमा दीर्घकालीन विवाहको सम्मान गर्ने परिपाटीलाई संस्थागत गर्दै सामाजिक मूल्य र नैतिकताको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।