रौतहटको लाल बकैया खोलाबाट अवैध वालुवा उत्खननमा संलग्न दुई ट्र्याक्टर नियन्त्रणमा

106

रौतहट — रौतहट जिल्लाको बौधीमाई नगरपालिका–२ इनर्वा स्थित लाल बकैया खोलाबाट अवैध रूपमा वालुवा उत्खनन गरी लोड गरिएका दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोपवा पिपरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले मिति २०८२ असार ११ गते राति करिब ८:४५ बजे सो कार्य गरिरहेको अवस्थामा प्रदेश २-०३-००१ त २२१५ र ना.५त ७०५३ नम्बरका ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो।

उक्त घटनासम्बन्धी विवरण जिल्ला समन्वय समितिको कार्यालयमा प्राप्त भएपछि मिति २०८२ असार १२ गते बसेको समितिको निर्णयअनुसार, समन्वयमा बौधीमाई नगरपालिकाले ट्र्याक्टरमा लोड गरिएको नदीजन्य सामग्री अनलोड गरी, प्रचलित कानुनअनुसार लिलाम बिक्री प्रक्रिया अघि बढाइने भएको छ। प्राप्त रकम स्थानीय सञ्चित कोषमा दाखिला गरिने जनाइएको छ।

साथै, “ढुंगा, गिट्टी, वालुवा उत्खनन, संकलन तथा बिक्री वितरण प्रक्रियाको अनुगमन तथा नियमन सम्बन्धी कार्यविधि, २०८२” को दफा ८ को उपदफा (५) अनुसार, ट्र्याक्टरधनीहरूलाई जनही १५,००० रुपैयाँ जरिवाना गरिएको छ। रातिको समयमा उत्खनन गरेकाले प्रदेश २-०३-००१ त २२१५ नम्बरको ट्र्याक्टरलाई थप ५० प्रतिशत जरिवाना गरिएको हो।

जिल्ला समन्वय अधिकारी अमित कुमार यादवका अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न तथा वातावरण संरक्षण गर्न समितिले थप निगरानी र कार्यान्वयनलाई सुदृढ बनाउँदै लैजाने योजना अघि सारेको छ।