गरुडा नगरपालिकाद्वारा सिँचाइ विद्युत महसुलको १० लाख बढी रकम हस्तान्तरण

95

रौतहट । रौतहटको गरुडा नगरपालिकाले सिँचाइ प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने विद्युत महसुल अन्तर्गत दश लाख बत्तीस हजार चार सय उन्नासी रूपैयाँ दश पैसा बराबरको चेक प्राधिकरणको गौर शाखालाई हस्तान्तरण गरेको छ ।
नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले आज आयोजित कार्यक्रममार्फत प्राधिकरण गौर शाखाका प्रमुखलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो । उहाँले गरुडा नगर क्षेत्रभित्रका वडाहरू नं. १ देखि ८ सम्मका सिँचाइ ग्राहकहरूका तर्फबाट रकम बुझाइएको जानकारी दिए । जयसवालले भने कृषकहरूको सिँचाइ पहुँच सहज, नियमित र स्थायी बनाउने उद्देश्यले विद्युत महसुलको भुक्तानी गरिएको हो ।
कृषि आत्मनिर्भरतातर्फ अगाडि बढ्न सिँचाइ व्यवस्था सुधार अपरिहार्य छ । नगरपालिकाका अनुसार यो कदमले स्थानीय कृषकहरूलाई सिँचाइको अभावमा भोग्नुपरेको समस्या न्यूनीकरण गर्न मद्दत गर्नेछ । साथै नगरपालिकाले कृषिमा आधारित पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा थप सिँचाइ सुविधा विस्तार तथा प्रविधिमैत्री योजना कार्यान्वयन गर्ने तयारी गरेको छ ।