गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट

197

रौतहट : रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । गौर नगरपालिका वडा नम्वर ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा बिजुलीको पोलमा आइतबार दिउँसो ४ बजेको समयमा बाँधेर पशु सरह निर्घात कुटपिट गरेको हो ।

गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा विवाद भइ सामान्य झै झगडा भएका थिए । सोही रिसिइवीलाई लिएर घरमा कोही नभएको मौका छोपी भाइलाई घरबाट बाहिर निकालेर बिजुलीको पोलमा बाँधी पशु सरह साजिद, उसको बुबा, भाइ, बतहा र आश मह्म्मदले प्लास्टिकको पाइप, मुक्का, लाठी, खुटाले निर्घात कुटपिट गरेर मरणासन्न बनाएको पीडित युवकको दाजु इलियास अन्सारीले बताए ।

भाइ प्रिन्सलाई अमानवीय व्यवहार एवं तालिवानी शासन जस्तो वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको रोहवरमा यसरी यातना दिनु मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाए । भाइमाथि गरिएको पशुजन्य व्यवहारविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी उजुरी गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले पीडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भइरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।