गरुडा नगरपालिकामा सिँचाइ सुविधा सुधार : किसानका लागि विद्युत पोल जडान

106

रौतहट — गरुडा नगरपालिका वडा नं. ७ अन्तर्गत पिपरा र भिण्डाभारका किसानहरूलाई लक्षित गरी कृषि सिँचाइ सुविधा सुधार गर्ने उद्देश्यले विद्युत पोल जडान गरिएको छ।

नगरप्रमुख कन्थमणी जयसवालको पहलमा सुरु गरिएको उक्त कार्यले किसानलाई आधुनिक र सहज सिँचाइ सेवामा पहुँच पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। मेयर जयसवालले आत्मनिर्भर कृषि प्रणाली निर्माणका लागि नगरपालिकाले प्राथमिकताका साथ सिँचाइ लगायतका पूर्वाधारमा लगानी गरिरहेको बताएका छन्।

“किसान बलियो भए मात्र नगर समृद्ध बन्न सक्छ,” मेयर जयसवालले बताए। उनले स्थानीय कृषकहरूको आयवृद्धि र कृषि उत्पादन बढाउने लक्ष्यसहित विद्युतीकरण परियोजना अगाडि बढाइएको उल्लेख गरे।

स्थानीय कृषकहरूले नगरपालिकाको यो कदमप्रति खुसी व्यक्त गर्दै यसले वर्षौं देखिको सिँचाइ समस्याको समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।