गौर राइस मिल मैदान संरक्षणका लागि जनमत पार्टीद्वारा ज्ञापनपत्र

131

रौतहट– गौर राइस मिल मैदान संरक्षणका लागि जनमत पार्टीले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा गौर नगरपालिकामा रहेको ऐतिहासिक गौर राइस मिल मैदानलाई स्थानीय तहको मातहत नराखी मधेस प्रदेश सरकारले नै अधिग्रहण गरी संरक्षण, संवर्द्धन र विकास गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा जनमत पार्टीले वि.सं. २०६६ मा नेपाल सरकारको मन्त्रीपरिषद्ले उक्त क्षेत्रलाई सार्वजनिक खेलमैदानका रूपमा विकास गर्ने निर्णय गरिसकेको र मधेस प्रदेश सरकारले दुई पटक बजेटसमेत विनियोजन गरिसकेको भए पनि भू-माफियाहरू, कानुनी जटिलता र स्थानीय नेताहरूको राजनीतिक चलखेलका कारण जनताको नासो कायम हुन नसकेको आरोप लगाइएको छ।

जनमत पार्टीका अनुसार गौर नगरपालिकाका जनप्रतिनिधिहरूले राइस मिलको केही भाग दानमा लिएर बाँकी जग्गा बिक्रीका लागि बाटो खोल्ने प्रयास गरेकोप्रति गम्भीर आपत्ति जनाइएको छ। यसले जनताको सम्पत्ति लुट्ने प्रयास भइरहेको जनमत पार्टीले आरोप लगाएको छ।

जनमत पार्टीले गौर राइस मिल क्षेत्रलाई ऐतिहासिक सम्पत्तिका रूपमा संरक्षण गर्दै खेलमैदानका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने माग राखेको छ।