आसमान नेपालको आयोजनामा आमाहरूका लागि शीतकालीन प्याकेज वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

97

रौतहट – तराई क्षेत्रमा बढ्दो चिसो र शीतलहरका कारण गरीब तथा विपन्न परिवारहरू प्रभावित भइरहेका छन्। विशेष गरी दलित, अपाङ्ग, सुत्केरी तथा कमजोर आर्थिक अवस्थाका महिलाहरूलाई न्यानो सामग्रीको अभावले कठिनाइ भोग्नुपरेको छ। यसै सन्दर्भमा, ब्रीटिस काउन्सिल, भि.एस.ओ. र युकेएआइडीको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा तथा आसमान नेपाल गौर शाखाको आयोजनामा गौर नगरपालिका वडा नं. ४, गढवा टोलमा आमाहरूका लागि शीतकालीन प्याकेज वितरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य विपन्न वर्गका महिलाहरूलाई शीतलहरबाट जोगाउन सहयोग गर्नु थियो। खासगरी, गरिब, दलित, सुत्केरी तथा अपाङ्ग महिलाहरू गरी कुल ६० जनालाई न्यानो झोला, कम्बल र फोम वितरण गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले शीतलहरका कारण गरीब तथा विपन्न समुदायका मानिसहरू प्रभावित भइरहेको उल्लेख गर्दै यस्तो सहयोगले उनीहरूको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “हामीले यस कार्यक्रममा विशेष गरी सुत्केरी तथा अपाङ्ग महिलाहरूलाई प्राथमिकता दिएका छौँ किनभने चिसो मौसममा उनीहरूको स्वास्थ्यमा थप असर पर्न सक्छ। यो कार्यक्रम उनीहरूको सुरक्षाका लागि एउटा महत्वपूर्ण कदम हो।
कार्यक्रममा गौर नगरपालिकाका समाजसेवीहरू चिरन्जीवी सिंह, श्रीराम यादव, जगदीश यादव र मनोज यादवको पनि उपस्थिति रहेको थियो। समाजसेवीहरूले आसमान नेपाल र जेम्स परियोजनाको यो पहलप्रति प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

शीतकालीन प्याकेज वितरण कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। आसमान नेपाल गौर शाखाका स्वास्थ्य सहजकर्ता मंजु रजक, फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव तथा भिएसओ रौतहटका आरती पटेलको विशेष योगदान रह्यो। उनीहरूले कार्यक्रममा सहभागी महिलाहरूलाई न्यानो सामग्रीको महत्वबारे सचेत गराउँदै नियमित रूपमा यस्ता सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी भएकाहरूले यस किसिमका सहयोग कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताएका छन्। एक जना लाभान्वित महिलाले भनिन्, “हामी जस्तो गरीब परिवारका लागि चिसो मौसम निकै कष्टकर हुन्छ। न्यानो लुगा किन्ने पैसा नहुँदा हामी धेरै कठिनाइ झेल्न बाध्य हुन्छौँ। आसमान नेपालले प्रदान गरेको सहयोग हाम्रो लागि ठूलो राहत भएको छ।”
त्यस्तै, स्थानीय अगुवाहरूले भने, “यसरी नै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरियोस्। गरीब तथा विपन्न वर्गका लागि यी कार्यक्रमहरू आशाको किरण हुन्।
कार्यक्रमको समापनका क्रममा परियोजना संयोजक संजय कुमार यादवले आसमान नेपाल तथा जेम्स परियोजनाको टोलीले कार्यक्रम सफल बनाउन गरेको मेहनत र समर्पणप्रति आभार व्यक्त गरे। उनले भने हामी आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजनामा छौँ। गरिब तथा विपन्न समुदायको हितका लागि हामी सधैं प्रतिबद्ध छौँ।
शीतलहरले तराई क्षेत्रमा धेरैलाई प्रभावित गरिरहेको अवस्थामा आसमान नेपाल, जेम्स परियोजना तथा अन्य साझेदार संस्थाहरूको यस्तो पहल अत्यन्त प्रशंसनीय छ। गरिब तथा दलित समुदायका महिलाहरूलाई न्यानो झोला, कम्बल, र फोम वितरण गर्नु जस्तो कार्यक्रमले उनीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन भएमा विपन्न समुदायको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास लिइएको छ।