रौतहट: हालै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को फाइनल खेलमा जनकपुर बोल्ट्सले विजयी हासिल गरेपछि खेल हेरेर फर्किरहेका समर्थकहरूमाथि सांप्रदायिक हमला भएको घटना प्रकाशमा आएको छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानबाट फर्किरहेका मधेसी समुदायका दर्शकहरूलाई कथित सुदूरपश्चिम रोयल्सका समर्थक भनिने पहाडी समुदायका युवाहरूले छालाको रङ, भेषभूषा, र बोलिचालीको आधारमा गालीगलौज, अपमानजनक व्यवहार, र कुटपिट गरेका थिए।
यस घटनाले सम्प्रदायिक सद्भाव खलबलिएको भन्दै जनमत पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्तो घृणित र विभेदपूर्ण घटनाको छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन सरकार र प्रशासनसँग जोडदार माग गरेको छ।
जनमत पार्टीले यस घटनाप्रति ध्यानाकर्षण गराउँदै भन्यो, “पार्टीले संसदमा रंगभेदी विभेद विरुद्धको कानुन बनाउन संकल्प प्रस्ताव दर्ता गरेको होस् वा रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको होस्, हाम्रो पार्टी यस्ता घटनाहरूको सदैव विरोध गर्दै आएको छ। दोषीहरूमाथि कडा कारबाही नभए, पार्टी बाध्य भएर आन्दोलनमा जान्छ। यस घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र प्रशासनको हुनेछ।”
जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै, यथाशीघ्र कारबाहीको माग गरेको छ।