रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काले जिल्लामा व्याप्त विकृति, विसंगति र वेथेती अन्त्य गर्दै सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय गौरमा आयोजित सञ्चारकर्मीहरूसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रजिअ खड्काले जिल्लामा तस्करी, आपराधिक घटना र विपद् व्यवस्थापनमा क्रमिक सुधार ल्याउने र जनताले पाउनुपर्ने सेवा सुविधालाई सरल र छरितो बनाउने स्पष्ट पारे । उनले भने मैले रौतहटवासीलाई सुशासनको पूर्ण प्रत्याभूति दिलाउने हर सम्भव प्रयास गर्नेछु ।
गौरमा हालै भएको दुई पक्षीय तनावलाई सहमतिका आधारमा समाधान गरिएको र गौर राइस मिल्सको मुद्दामा आफू रौतहटवासीको हितमै रहने उनको भनाइ छ । मैले कुनै पनि प्रभाव, दबाब वा प्रलोभनमा नपरी नेपाल सरकारको ऐन, कानुन र नियमअनुसार इमानदारीपूर्वक काम गर्नेछु उनले थपे ।
प्रजिअ खड्काले सेवा सुविधाको गुणस्तर सुधार गर्दै झन्झटिलो प्रक्रियाहरूलाई हटाएर जनताले सहज रूपमा सेवा पाउने वातावरण बनाउन आफू विशेष फोकस गर्ने बताए । उनले भने रौतहटवासीलाई पूर्ण इमान्दारीका साथ सेवा प्रदान गर्ने मेरो प्रतिबद्धता छ ।
कार्यक्रममा प्रशासकीय अधिकृत मनिष झा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष संजयकुमार कार्की, निवर्तमान केन्द्रीय सदस्य शिव पुरी, पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा लगायतका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।