रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबार दोस्रो दिन सम्पन्न परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूबाट चिट चोर्ने क्रममा ३४० वटा मोबाइल र दुई वटा स्मार्ट वाच बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटअनुसार परीक्षार्थीहरूले चिट चोर्नका लागि मोबाइल र स्मार्ट वाच शरीरमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो । परीक्षा हलमा निगरानी गरिरहेका प्रहरी तथा निरीक्षकहरूको सतर्कताका कारण ती सामग्री बरामद गरिएको जनाइएको छ ।
यसै क्रममा परीक्षा केन्द्रमा निरीक्षकका रूपमा खटिएका दुई जना निरीक्षकले आफ्नो जिम्मेवारी विपरीत कार्य गरेको पाइएपछि उनीहरूलाई परीक्षा अवधि भरि रिष्टिगेट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए ।
बरामद गरिएका मोबाइल र स्मार्ट वाचलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनापछि परीक्षा केन्द्रहरूमा निगरानी थप कडा बनाउने तयारी भइरहेको छ ।