रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप

15

रौतहट– रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीचको विवाद चुलिँदै गएको छ। महासचिव रविन्द्र गोपालीले अध्यक्ष पण्डित प्रसाद जयसवालले कार्यकाल लम्ब्याउने मनसायका कारण संघ लथालिंग बन्दै गएको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव गोपालीले संघको निर्वाचन समयमा गराउन अध्यक्ष जयसवालले अवरोध खडा गरिरहेको आरोप लगाए। उनले कार्यकाल सकिन लाग्दा पनि अध्यक्ष जयसवालले विधान विपरित गतिविधि गर्दै संघको नियमित कामकारबाही रोकिरहेको दाबी गरे।

गोपालीले चैत २३ गतेका लागि साधारण सभा आह्वान गरिएको जानकारी दिँदै अध्यक्ष पक्षले सहभागी नहुने संकेत दिएको खुलासा गरे। उनले अध्यक्ष जयसवालले लेखा परीक्षण र नविकरण नगरेर संघको काम अवरुद्ध बनाएको आरोप समेत लगाए।

यसैबीच, अध्यक्ष जयसवालले महासचिव गोपालीले लगाएका आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्। जयसवालले महासचिवले विधान विपरित सदस्यता वितरण गरेको र नियमविपरीतका सदस्यता मान्य नहुने बताए। उनले विवाद समाधानका लागि आफू तयार रहेको उल्लेख गर्दै संघको गरिमा जोगाउन सबै पक्ष मिल्नुपर्ने धारणा राखे।

संघभित्र देखिएको विवादले संघको गतिविधि प्रभावित भएको छ। पदाधिकारीहरूबीचको विवाद समाधानका लागि तत्काल पहल आवश्यक रहेको स्थानिय व्यापारीहरूको धारणा छ।