एसईई परिक्षामा मर्यादा भंग गर्ने ४२४ मोबाइल बरामद, २ जना पक्राउ

106

रौतहट । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ । परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न र परीक्षामा अनधिकृत रूपमा सहयोग पुर्याउने कार्यमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा ४ सय २४ वटा मोबाइल फोन बरामद गरिएको छ भने परीक्षाको मर्यादा भंग गरेको आरोपमा एक जना परीक्षा निरीक्षक र एक जना बाहिरी व्यक्ति पक्राउ परेका छन् ।
रौतहटको यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रमा एक जना परीक्षा निरीक्षकले परीक्षार्थीहरूबाट रकम लिई मोबाइल प्रवेश गराएको पाइएको छ । प्रहरीका अनुसार परीक्षामा चिट चोर्नका लागि परीक्षार्थीहरूलाई सजिलो बनाइदिने उद्देश्यले परीक्षा निरीक्षकले उनीहरूबाट आर्थिक लाभ लिएको प्रमाण फेला परेको हो । चेकजाँचका क्रममा परीक्षार्थीहरूका शरीरमा लुकाइएका मोबाइल फोनहरू फेला परेपछि यस विषयमा थप अनुसन्धान थालिएको हो ।
यसैगरी मौलापुर नगरपालिका–५ स्थित श्री लक्ष्मिनिया मावि मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार ती व्यक्तिले परीक्षार्थीहरूसम्म चिट पुर्याउने प्रयास गरिरहेका बेला निगरानी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस वर्षको एसईई परीक्षामा परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा प्रवेश गर्ने प्रयासहरू व्यापक रूपमा देखिएको छ । चेकजाँचका क्रममा ४ सय २४ वटा मोबाइल फोन विभिन्न परीक्षा केन्द्रहरूबाट बरामद गरिएको छ ।
परीक्षाको मर्यादा भंग गर्ने कार्यमा संलग्नलाई कडाइका साथ कारबाही गरिने बताइएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार परीक्षामा मोबाइल लुकाएर प्रवेश गर्ने कार्य नियन्त्रण गर्नका लागि थप कडाइ अपनाइनेछ ।
डीएसपी रायले भने परीक्षाको शुद्धता र मर्यादा कायम राख्नका लागि सुरक्षा व्यवस्था थप कडा पारिनेछ । परीक्षाको समयमा परीक्षार्थीहरूलाई कुनै पनि प्रकारको अनियमित गतिविधि गर्न नदिनका लागि कडा निगरानी गरिनेछ ।