गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय

79

रौतहट — गौर नगरपालिकाले गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। लामो समयदेखि अधिग्रहणको चर्चा भइरहे पनि कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा नगरप्रमुख शम्भु साहको पहलमा गौर नगरपालिकाले सम्पूर्ण जग्गा अधिग्रहण गर्ने बाटो खोलेको हो।

नगरपालिकाले यसअघि गौर राइस मिल्सका सञ्चालकसँग सहमति गर्दै २ विगहा १५ कत्ठा जग्गा दानमा लिने र बाँकी जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो। तर, नागरिक समाजको नेतृत्वमा सर्वदलिय बैठकबाट सम्पूर्ण जग्गा अधिग्रहण गर्न मागसहित ज्ञापन पत्र बुझाइएपछि नगरपालिकाले विगतमा भएका सबै निर्णय स्थगित गरी सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको हो।

नगरप्रमुख साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गौर राइस मिल्सका नाममा दर्ता रहेका जग्गा लामो समयदेखि सार्वजनिक प्रयोगमा रहिआएको र जनचाहना अनुसार उक्त जग्गा प्राप्त गर्न आवश्यक देखिएकोले अधिग्रहण कार्यलाई अघि बढाउने निर्णय गरिएको हो।”

नगरप्रमुख साहको यो निर्णयप्रति नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीले सराहना व्यक्त गर्दै सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायलाई अधिग्रहण कार्यमा सहयोग गर्न आह्वान गरेका छन्। यस अवसरमा गौर नगरका पूर्व नगरप्रमुख तथा निवर्तमान प्रदेशसभा सदस्य बाबुलाल साह, नेकपा एसका नेता रेबन्त झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाको यस निर्णयपछि गौर नगरवासीले सार्वजनिक प्रयोजनका लागि जग्गाको उपयोग हुनेमा आशा व्यक्त गरेका छन्।