रौतहटको एक वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी पक्राउ

1634

रौतहट २२ माघ // रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार दिउँसो तोडफोड गरेका हुन् ।

स्थानीय श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरु वडा कार्यालयमा प्रवेश गरी कागजात, फर्निचर, कम्प्युटर, झ्यालढोका लगायतको सरसमान तोडफोड गरी नष्ट गरेका छन् । तोडफोड गरी सरसमानलाई यताउता फालिदिएका छन् । कार्यायका धेरै सामग्री नष्ट एवं क्षतिग्रस्त भएको छ ।

वडा कार्यालयमा तोडफोडमा संलग्न १८ जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। गरुडा नपाको वडा नम्बर २ को वडा कार्यालयमा तोडफोड गर्ने केही विद्यार्थी र अन्य गरि १८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


तोडफोडमा संलग्न १८ जना विद्यालर्थीलाई प्रहरीले पक्राउ गरेको छ । १८ जना विद्यार्थीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले टुडेपाटीलाई जानकारी दिए । कार्यालयका महत्वपूर्ण कागजा, सामग्री नष्ट भएकाले उनीहरुमाथि कारबाही गरिने उनले बताए ।

यसअघि २ महिना अगाडी पनि पढाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफफोड गरेका थिए । मनोबल बढेर फेरी वडा कार्यालयमै तोडफोड गरी व्यापक क्षति गरेकाले पक्राउ परेका विद्यार्थीहरुमाथि मुद्दा चलाई कानुन अनुसार कारबाही गरिने डीएसपी कार्कीको भनाइ छ ।केही अभिभावकको उक्साहटमा गत मंसिरको अन्तिम हप्ता विद्यार्थीहरुको एक समूहले मावि गेडहीगुठीमा पनि तोडफोड गरेको थियो। विद्यालयमा तोडफोड गर्ने विद्यार्थीले नै नगरपालिकाको वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने भएकोले छानबिन भइरहेको डिएसपि कार्कीले बताए।