रौतहट । रौतहटको राजपुर नगरपालिकाले आयोजना गरेको पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता वडा नम्बर ५ को टोलीले जितेको छ। राजपुर नगरपालिका र आरडीसीको सहकार्यमा आयोजित प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर २ लाई ७० रनको अन्तरले पराजित गर्दै उपाधि आफ्नो हात पारेको हो।
प्रतियोगिता राजपुर नगरपालिका वडा नम्बर ५ को हाइस्कुल ग्राउन्डमा सम्पन्न भएको थियो, जहाँ किशोरी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। फाइनल खेल निकै रोमाञ्चक रह्यो। वडा नम्बर ५ ले पहिले ब्याटिङ गर्दै १५ ओभरमा १२० रनको योगफल खडा गर्यो। जवाफमा वडा नम्बर २ को टोली ५० रनमै समेटिएको थियो। विजयी टोलीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, जसमा कप्तानले ४० रन बनाउनुका साथै ३ विकेट लिएको योगदान उल्लेखनीय रह्यो।
नगरपालिकाले लैंगिक समानता प्रवर्द्धन तथा किशोरीहरूको क्षमता अभिवृद्धिका लागि पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। जिल्ला स्तरमै पहिलो पटक यस्ता प्रतियोगिता आयोजना भएको नगरपालिकाले जनाएको छ। किशोरीहरूलाई खेलमा सहभागी गराउने, उनीहरूलाई अवसर प्रदान गर्ने तथा खेलकुद क्षेत्रमा उत्साहित गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका राजपुर नगरपालिकाका मेयर डा। राजिक आलम ले विजयी खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी प्रदान गरे। उनले खेल क्षेत्रको विकास, खेलाडी उत्पादन, तथा किशोरीहरूको सशक्तिकरणका लागि आगामी वर्षहरूमा पनि प्रतियोगिता निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगिताको आयोजना किशोरीहरूको शारीरिक, मानसिक, तथा सामाजिक सशक्तिकरणको लागि महत्वपूर्ण रहेको आयोजक समितिले जनाएको छ। खेलकुदले अनुशासन, आत्मविश्वास, तथा समूहमा काम गर्ने क्षमताको विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने खेलाडी तथा स्थानीय नागरिकले माग गरेका छन्।
प्रतियोगितामा सहभागी टोली तथा खेलाडीहरूले पनि नगरपालिकाले गरेको यस पहलकदमीको स्वागत गर्दै आगामी दिनमा अझ बढी प्रतियोगिताहरू आयोजना गर्न आग्रह गरे। खेलाडीहरूमध्ये केहीले भविष्यमा प्रदेश तथा राष्ट्रिय स्तरमा खेल्ने लक्ष्य लिएको बताउँदै यस्ता प्रतियोगिताले उनीहरूलाई थप प्रेरित गरेको प्रतिक्रिया दिए।
राजपुर नगरपालिकाले आगामी वर्षहरूमा पनि बालिका तथा किशोरी लक्षित अन्य खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने योजना बनाएको छ। नगरपालिकाले भलिबल, दौड, कबड्डी जस्ता खेलहरूमा पनि प्रतियोगिता गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।