रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–१ मा अवस्थित गौर सेन्ट्रल हॉस्पिटल प्रा. लि.मा उपचारका क्रममा एक युवकको मृत्यु भएको छ। मृतक गौर नगरपालिका–३ का १९ वर्षीय लालू अधिकारी यादवको ज्यान डाक्टरको लापरवाहीका कारण गएको मृतकका आफन्तले आरोप लगाएका छन्।
शनिबार बेलुकी पेट दुखेर प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल गौरको आकस्मिक कक्षमा पुर्याइएका लालूलाई प्रारम्भिक परीक्षणपछि आन्द्रामा समस्या देखिएको भन्दै छिटो शल्यक्रिया गर्न सुझाव दिइएको थियो। डाक्टर घनश्याम ठाकुरको सुझावपछि डाक्टर पंकज साह र गौर सेन्ट्रल हॉस्पिटलका डाक्टर फिरोजको टोलीले निजी अस्पतालमा सबै सुविधा रहेको भन्दै उनलाई भर्ना गराएको मृतकका काका देवेन्द्र अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार, लालू स्वयं हिँडेरै ऑपरेशन थिएटरसम्म पुगेका थिए तर शल्यक्रियामा संलग्न डाक्टरहरू उपस्थित नभएको आरोप छ। जब बिरामीको अवस्था गम्भीर हुँदै गयो, परिवारले अर्काे सुविधा सम्पन्न अस्पतालमा लैजाने आग्रह गर्दा पनि डाक्टर पंकज साहले सामान्य समस्या भन्दै समय खेर फालिदिए। तीन घण्टासम्म अनावश्यक रूपमा रोकिएपछि राति १० बजे मात्र बीरगंज रिफर गरिएको र ११ बजे मेडिकल कलेज पुग्दा डाक्टरहरूले बिरामीको तीन घण्टा पहिलै मृत्यु भइसकेको घोषणा गरेको अधिकारीले बताए।
परिवारले डाक्टर फिरोज, डाक्टर घनश्याम ठाकुर र डाक्टर पंकज साहमाथि कमीशनको लोभमा षड्यन्त्रपूर्वक हत्या गरेको आरोप लगाउँदै कडा कारबाहीको माग गरेका छन्। प्रादेशिक अस्पताल गौरबाट अरू स्थानमा पठाउन सकिने अवस्थासम्म हुँदा समेत निजी अस्पतालमा रिफर गर्नु लापरवाही मात्र नभई योजनाबद्ध हत्या भएको पीडित पक्षको आरोप छ।
आइतबार बेलुकी सयौं युवाहरुको समूह मृतकका आफन्तसँगै गौर सेन्ट्रल हॉस्पिटल पुगेका थिए र दोषी डाक्टरहरूलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। घटनापछि डाक्टर फिरोज सम्पर्कविहीन भएका छन् भने अस्पताल प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन।