इशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गुप्ताको कार्यशैलीको प्रशंसा

179

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताको कार्यशैली सराहनीय रहेको नगर कार्यपालिकाले जनाएको छ । यहि माघ २८ गते सोमबार बसेको सातौं कार्यपालिका बैठकले गुप्ताको कार्यशैलीको प्रशंसा गर्दै उनको नेतृत्वमा नगरपालिकाभित्र सुशासन, समृद्धि, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको निष्कर्ष निकालेको हो ।
बैठकमा नगरप्रमुख कौशल्या देविले गुप्ताको कार्यशैलीलाई व्यक्तिगत रूपमा पनि धन्यवाद दिँदै, इशनाथ नगरपालिकालाई समृद्ध र सुखी बनाउन उनको योगदान महत्वपूर्ण रहेको बताइन् । प्रमुख प्रशासकिय अधिकृत गुप्ता नियुक्त भएपछि नगरपालिकाबाट छिटो छरितो सेवा प्रवाह हुँदै आएको छ । जनताले अनावश्यक सास्ती भोग्न नपर्ने अवस्था सिर्जना भएको कार्यपालिकाको भनाइ छ । नागरिक र पालिकाबीचको सम्बन्ध अझ प्रगाढ बनेको भन्दै कार्यपालिकाले गुप्ताको कार्यशैलीलाई सकारात्मक रूपमा मूल्यांकन गरेको छ ।
उल्लेखनीय उपलब्धिहरू छिटो छरितो सेवा प्रवाह,गुणस्तरीय विकास निर्माण कार्य,स्वास्थ्य संस्थामा पर्याप्त औषधि व्यवस्था,विद्यालयमा छात्राहरूका लागि सेनेटरी प्याडको उपलब्धता रहेको वडा न. ३ का वडा अध्यक्ष धर्मेन्द्र साहले बताएका छन ।
नगरप्रमुख कौशल्या देविले नियम र प्रक्रियाअनुसार काम गर्दा केही सीमित व्यक्तिहरू असन्तुष्ट बनेको बताइन् । उनीहरू सूचनालाई गोप्य भन्दै अनावश्यक भ्रम फैलाउन खोजेको आरोप समेत लगाइन् । साथै, उनले सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गरिन् ।
कार्यपालिकाले आगामी दिनहरूमा पनि प्रमुख प्रशासकिय अधिकृत गुप्ताको यस्तै कार्यशैलीको अपेक्षा गर्दै इशनाथ नगरपालिकालाई अझ समृद्ध र सुखी बनाउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।