वडा सचिवमाथि कार्यकक्षमै कुटपिट: नेपाल निजामती कर्मचारी युनियनको विरोध

130

रौतहट । गण्डकी प्रदेश, तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका ६ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव तथा वरिष्ठ प्रशासन सहायक नविन भुषालमाथि कार्यालय समयमा कार्यकक्षमै कुटपिट तथा अमानवीय दुर्व्यवहार भएको छ। मिति २०८१ साल फागुन ५ गते भएको यस घटनाप्रति नेपाल निजामती कर्मचारी युनियन, नगर कार्य समिति ईशनाथ नगरपालिका, रौतहटले घोर निन्दा तथा भर्त्सना गरेको छ।

नेपाल निजामती कर्मचारी युनियनले एक विज्ञप्ति जारी गर्दै हाल स्थानीय तहमा राष्ट्र सेवामा समर्पित कर्मचारीहरू माथि भइरहेका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। विज्ञप्तिमा राष्ट्र सेवक कर्मचारीको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरिएको छ।

संघले यस्ता घटनाहरू पुनः नदोहोरियोस् भन्ने सुनिश्चित गर्न कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, घाइते भएका वडा सचिव श्री नविन भुषालको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

नगर अध्यक्ष कौशल कुमार अधिकारी, नगर उपाध्यक्ष कृष्णा नन्दन कुमार, तथा जिल्ला अध्यक्ष ईसराजुल खाँले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा निजामती कर्मचारीहरूको हकहित र सुरक्षाका लागि संघ सँधै प्रतिबद्ध रहेको उल्लेख छ।