बिना स्वीकृत प्रवेश द्वार निर्माण

146

रौतहट । गौर–चन्द्रनिगाहपुर सडक खण्डको स्तरउन्नति गरेर फोरलाईनमा विस्तार गर्ने योजना अन्तर्गत गौर नगरपालिकाले सडक विभागको पूर्व स्वीकृति बिना स्वागत द्वार निर्माण गर्ने कार्य सुरु गरेको छ । यस निर्णयको कारण सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले आपत्ति जनाउँदै निर्माण कार्य रोक्न आग्रह गरेको छ । गौर नगरपालिकाले आफ्नो कार्य योजना अघि बढाएको भए पनि विभागीय स्वीकृति बिना प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाइएको छ ।
सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णका अनुसार गौर नगरपालिकाले निर्माण गर्न लागेको स्वागत द्वारको विभागीय स्वीकृति छैन । जसका कारण उनीहरूले औपचारिक आपत्ति जनाएका छन् । कर्णले भने मुल सडकदेखि १५ मिटर दायाँ र बायाँको क्षेत्रमा कुनै पनि स्थायी संरचना निर्माण नगर्न भनिएको छ । फोरलाईन विस्तारको दायरा बाहिर रहेको प्रवेश द्वारको ड्राइङ्ग पनि स्वीकृत छैन ।
कर्णले थपे देशमा लोकतन्त्र हो कि मनपरी तन्त्र हो, बुझ्न गाह्रो छ । जसलाई जे मन लाग्यो त्यही काम गरी रहेका छन् । कसैले पनि कसैको अधिकार क्षेत्रमा प्रवेश गर्नु अगाडि सोध्नुपर्छ । अहिले ठेक्का भई सकेको हो तर सहमति प्राप्त गर्न कागजात र स्केच मिलाएर विभागसँग सहमति गर्नुपर्ने हो । गौर नगरपालिकाले उक्त प्रवेश द्वार निर्माणका लागि आवश्यक कागजात पेस गरेको र विभागीय सहमति प्राप्त गर्नका लागि प्रयास गरिरहेको जानकारी सुभाष कुमार ठाकुर गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले दिएका छन् ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले भने सडक विभागको तोकिएको मापदण्ड अनुसार स्वागत द्वार निर्माण स्थलमा पर्याप्त जग्गा उपलब्ध छ । विभागीय सहमति प्राप्त गर्नका लागि हामीले सबै कागजात तयारी गरेर सडक डिभिजन चन्द्रनिगाहपुरमा पेस गरिसकेको छ । यसका अतिरिक्त उनले संकेत गरे कि उक्त परियोजना सडक विभागका नियम र मापदण्डहरूको पालना गर्दै भइरहेको छ ।
सडक डिभिजन चन्द्रनिगाहपुरले गौर विपी चौकदेखि माधवनारायण नगरपालिका ३ गजेन्द्रनारायण सिंह अस्पतालसम्मको १६.३६ किलोमिटर सडकलाई फोरलाईनमा विस्तार गर्न रमन–आश्रेय जेभीलाई ठेक्का दिएको छ । उक्त सडकको निर्माण कार्य २०८१ कात्तिक ६ गतेदेखि सुरु गरिएको हो र यसलाई २०८४ असोज २० सम्म पुरा गर्ने लक्ष्य राखिएको छ । सडक निर्माणको परियोजना अन्तर्गत रमन–आश्रेय जेभी कम्पनीले कार्य अघि बढाइसकेको र आगामी वर्षसम्म पूर्ण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
स्थानीय समाजसेवी विक्रान्त विक्रम नेपालले फोरलाईन सडकको सिमित विस्तारको विरोध गर्दै यसलाई केवल विपी चौकसम्म नरोकी प्रदेशीक अस्पताल गौरसम्म पुरा गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार यसरी सडकको दायरा विस्तार गर्दा स्थानीय नागरिकहरूलाई थप लाभ हुनेछ र यातायात सुविधामा उल्लेखनीय सुधार हुनेछ ।
नेपाली कांग्रेसका नेता रौतहट १ (क) का प्रदेश सभा सदस्य नागेन्द्र साहले पनि यस मार्गको विस्तारलाई बोडरसम्म जोड्नुपर्ने महत्त्वपूर्ण आवश्यकता व्यक्त गरेका छन् । उनका अनुसार फोरलाईन सडकलाई बोडर क्षेत्रसम्म जोड्ने प्रस्तावले यसको वास्तविक उपयोगिता सुनिश्चित गर्नेछ र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताको लागि सहुलियत पुर्याउनेछ । साहले चेतावनी दिएका छन् कि सडक बोडरसम्म जोड्न नसकिने हो भने स्थानीय जनता विरोधमा आन्दोलन गर्न बाध्य हुने छन् ।