रौतहटमा अवैध गाई तस्करी, दुई जना पक्राउ

85

रौतहट । नेपाल–भारत सीमामा अवैध रूपमा गाई तस्करी गर्न खोज्ने गिरोहहरू सक्रिय हुँदै गर्दा रौतहट प्रहरीले कडाइका साथ निगरानी बढाएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा गाई र बाछो ओसारपसार गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा अस्थायी प्रहरी पोस्ट बसपार्क र अस्थायी प्रहरी पोस्ट बमनहरबाट खटिएको प्रहरी गस्ती टोलीले राजपुर नगरपालिका–२ फतुवा क्षेत्रमा उक्त गाई–बाछो तस्करी भइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको पशु चौपायाको बजार मूल्य करिब ६५ हजार रुपैयाँ रहेको छ । प्रहरीले ६ वटा गाई र १ वटा बाछो बरामद गरेको छ । जुन सीमापार लैजाने तयारीमा थियो । नेपालबाट भारततर्फ गाई ओसारपसार गर्नु कानुनी रूपमा प्रतिबन्धित छ । घटनामा संलग्न रहेका दुई जना व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रौतहटको राजपुर नगरपालिका–२ फतुवा निवासी करिब ४३ वर्षीय ओहिद अंसारी र यमुनामाई गाउँपालिका–३ निवासी करिब २८ वर्षीय शेख सोहेब आलम रहेका छन् । उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए ।