रौतहट । नेकपा (माओवादी केन्द्र) ले विहीबार जनयुद्ध दिवस मनाउँदै रौतहट सदरमुकाम गौरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ । माओवादी जिल्ला इन्चार्ज अशोक जयसवालको नेतृत्वमा ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले गौर नगर परिक्रमा गरेका थिए । विपी चोकबाट सुरु गरिएको ¥याली मुख्य सडक हुँदै भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडि भएर पार्टी कार्यालयमा पुगेर समापन गरिएको थियो । पार्टी कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिताबीच पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।
उद्घाटनपछि मन्तव्य राख्दै प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज भट्टराई (समिर) ले वडा, पालिका, क्षेत्र तथा जिल्ला तहसम्म संगठन विस्तार गरी बलियो बनाएमात्र जनयुद्धको सपना पूरा हुने बताए । उनले सहिदहरूको सपनालाई साकार पार्न सबै कार्यकर्ताहरूले पार्टीका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
जिल्ला इन्चार्ज अशोक जयसवालले रौतहटमा माओवादी केन्द्र कुनै पनि अन्य दलभन्दा कमजोर नभएको दाबी गरे । उनले संगठनलाई संस्थागत रूप दिएर सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सम्बोधन गर्दै संगठन सुदृढीकरणका लागि स्थानीय तहमा पार्टीको सक्रियता बढाउनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वार्ड न. ३ का वडा अध्यक्ष डिके झा,पत्रकार लगायतका उपस्थित कार्यकर्ताहरूले जनयुद्धका सहिदहरूको सम्झनामा मौन धारण समेत गरेका थिए ।
कार्यक्रममा पूर्व जनमुक्ति सेना तथा जनयुद्धका अनुभवी नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले माओवादी आन्दोलनका बलिदान उपलब्धिहरू र भावी योजनाका विषयमा आफ्ना विचार राखे । कार्यक्रममा स्थानीय नागरिकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम समापनपछि स्थानीय नेताहरूले संगठन विस्तार पार्टीको आगामी रणनीति र भावी योजनाका विषयमा छलफल गरेका थिए । पार्टी कार्यालय उद्घाटनलाई स्थानीय तहमा माओवादी केन्द्रको पुनः सक्रियताको संकेतका रूपमा हेरिएको छ ।