रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले अषाढ मसान्त सम्ममा बक्यौता रहेको ग्राहकहरुबाट ५ करोड भन्दा बढी रकम असुल गरेको छ । गौर शाखाले लामो समय सम्म महशुल भुक्तानी बाकी राखेका १ हजार ६ सय ६५ ग्राहकबाट ५ करोड ९० लाख २५ हजार ४ सय ७० रुपैया असुल गरेको गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए । लामो समय सम्म बक्यौता राखेका मध्ये १ हजार ५ सय १५ जनाले पुनः लाईन जोडन लगाउदा सो रकम असुल भएको उनले बताए ।
यसै गरी अषाढ मसान्त सम्ममा विद्युत चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारवाही गर्दा गौर शाखाले ५८ लाख ५२ हजार २ सय ६६ रुपैंया समेत असुल गरेको छ । बिजुलिको तारमा हुकिंग गरि विद्युत चोर्ने विरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख ईन्जीनियर महतोले बताए । शाखाले प्रहरीको सहयोगमा विद्युत चुहावट गर्ने २ सय ५२ जनालाई पक्राउ गरि कारवाही समेत गरेको छ ।
मिटर भएर पनि विद्युत चोर्ने १८३ जनालाई कारवाही गरेको वितरण केन्द्रले जनाएको छ । चुहावट गर्ने व्यक्तिहरुको साथबाट पानी तान्ने मोटर लगायतका विभिन्न विद्युतिय उपकरण तथा तारहरु समेत बरामद गरिएको छ ।
प्राधिकरणको गौर शाखाले मधेश प्रदेशमै बक्यौता रहेका ग्रहकहरुबाट सबै भन्दा बढी विद्युत महशुल उठाउन सफल भएको प्रमुख महतोले बताए । प्राधिकरणले कालोसूचीमा परेका ग्राहकबाट १५ लाख ८७ हजार २ सय २४ रुपैया बक्यौता असुल गरेको छ । यस आर्थिक वर्षमा प्राधिकरणले थप ५ हजार ६ सय ६५ नयाँ ग्राहक जोडेको छ । विद्युत सुविधा चाहिएका नयाँ ग्राहकहरुले माँग गरे अनुसार नयाँ मिटर प्रदान गर्ने कार्य भइरहेकोले ग्राहकलाई असुविधा नभएको उनले बताए । “चुहावाट गरेर विजुलि प्रयोग गर्ने व्यक्ति तथा फर्महरुलाई धमाधम कारवाही गर्छौं ।” वितरण केन्द्रका प्रमुख महतोले भने “चुहावट नियन्त्रण गर्न प्राधिकरणको टोलीले जिल्लाका सबै स्थानहरुमा चेकजाँच गरिरहेको छ ।”
प्राधिकरणले लाईन काटेर पुनः लाईन जोडदा वापतको सेवा शुल्क १२ लाख ७८ हजार ८ सय ८३ रुपैया उठाएको प्रमुख महतोले बताए । सुरक्षाकर्मीको सहितको प्राधिकरणको टोलिले गाँउघरमा विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरेर सामान जफत गर्ने र जरीवाना समेत गराउन थाले पछि जिल्लामा चुहावटको दर कम भएको छ ।