गरुडा नगरपालिकामा कठ्याङ्ग्रिँदो चिसोबाट प्रभावितलाई राहत प्रदान

102

रौतहट । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले कठ्याङ्ग्रिँदो चिसोले नगरवासीलाई गम्भीर रूपमा प्रभावित गर्ने खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन्। चिसोको बढ्दो प्रभावले जनजीवन प्रभावित गरिरहेको अवस्थामा नगरपालिकाले राहतका लागि विशेष पहल सुरु गरेको छ।

नगर प्रमुख जयसवालले न्यानोमा बस्न, स्वास्थ्यको ख्याल राख्न, र सतर्क रहन नगरवासीलाई अनुरोध गरेका छन्। नगरपालिकाले वडा नं. ८ जिङ्गडिया, वडा नं. ९ रघुनाथपुर, वडा नं. ७ भिमडावर, र वडा नं. ४ गरुडाका प्रभावित क्षेत्रहरूमा आज आगो ताप्नका लागि दाउरा वितरण गरेको छ।

यसअघि, नगरपालिकाले अति विपन्न, गरिब, दलित, र ज्येष्ठ नागरिक गरी करिब १५ सयभन्दा बढी व्यक्तिहरूलाई कम्बल वितरण गरिसकेको छ। राहत अभियानलाई निरन्तरता दिँदै बाँकी क्षेत्रहरूमा पनि आवश्यक सामग्री वितरण गरिने जनाएको छ।

नगर प्रमुख जयसवालले नगरवासीहरूको स्वास्थ्य र सुरक्षाका लागि विभिन्न निकायहरूसँग समन्वय गरी चिसोबाट जोगाउन थप प्रभावकारी कदम चालिने प्रतिबद्धता जनाएका छन्। उनले सबै नगरवासीलाई चिसोबाट सुरक्षित रहन, न्यानोमा बस्न, र आफ्नो तथा परिवारको विशेष ख्याल राख्न अपिल गरेका छन्।