कटहरिया नगरपालिकामा एक महिनापछि ताल्चा खोलियो

97

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा झन्डै एक महिना लामो ताल्चा अन्ततः बिहीबार सर्वपक्षीय सहमतिसँगै खोलिएको छ। नगर उपप्रमुख र केही वडाअध्यक्षहरूको नेतृत्वमा पुराना विवादास्पद निर्णयहरूमा पुनः छलफल गर्ने मागसहित ताला लगाइएको थियो।

नगरपालिकामा ताल्चा खोल्ने पक्ष र नखोल्ने पक्षबीच विवाद उत्कर्षमा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो। झडपको सम्भावना टार्न सर्वपक्षीय बैठक आयोजना गरिएपछि सहमति जुटाएर ताला खोलिएको हो।नगरपालिकाको कामकाज पारदर्शी बनाउन, पुराना विवादास्पद निर्णयमाथि पुनः छलफल गर्न, र व्यवस्थित प्रशासनका लागि ताला लगाइएको उपमेयर पक्षले जनाएको छ।

सर्वपक्षीय बैठकमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गरेपछि बोर्ड बैठक बोलाउने र मंसिर २० गतेको निर्णयमाथि पुनः छलफल गर्ने सहमति भएको छ। नगर प्रमुख अजय प्रकाश जैसवालले दुवै पक्षलाई सहमतिमा ल्याउँदै ताला खोलिएको बताए।

ताल्चा खुलाइएपछि स्थानियवासीहरूले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेका छन्। लामो समयसम्म कार्यालय बन्द हुँदा सरकारी कामकाज र दैनिक प्रशासनिक कार्यहरू ठप्प भएकाले सेवाग्राहीहरू समस्यामा परेका थिए।

घटनाले नगरपालिकाको आन्तरिक व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन दुवै पक्षलाई गम्भीर बन्ने सन्देश दिएको छ। स्थानियहरूले नगरपालिकाले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने माग गरेका छन् ।