रौतहट – दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले गाउँपालिकाका उपाध्यक्षद्वारा गरिएको गैरकानुनी र अनियमित गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्षले गाउँ कार्यपालिकाको कार्यालयको लेटरप्याड र चलानी नम्बरको दुरुपयोग गरी विभिन्न सरकारी निकायमा पत्राचार गरेको आरोप लगाइएको छ। साथै, मासिक बैठकहरूमा अनुपस्थित भई, कार्यपालिकाका अन्य सदस्यहरूको सहभागितामा अवरोध सिर्जना गर्दै गाउँपालिकाको निर्णय प्रक्रियामा बाधा पुर्याएको पनि उल्लेख गरिएको छ।
अध्यक्ष सिंहका अनुसार, यस प्रकारका गतिविधिले कार्यालयका कर्मचारीहरूको मनोबल गिराउने मात्र होइन, गाउँपालिकाको सेवा प्रवाहमा पनि प्रत्यक्ष असर पुर्याएको छ। विज्ञप्तिमा उपाध्यक्षलाई कानुन बमोजिम जिम्मेवारी वहन गर्न प्रेरित गराउन र अनियमित गतिविधि तत्काल रोक्न चेतावनी दिइएको छ।
अध्यक्षले भने, “प्रचलित कानुन र नियम अनुसार काम गर्नु नै हाम्रो प्रमुख कर्तव्य हो। कुनै पनि प्रकारका गैरकानुनी क्रियाकलापहरूलाई हामी बर्दास्त गर्ने छैनौं।”
यो घटनाले दुर्गा भगवती गाउँपालिकाको आन्तरिक प्रशासनमा चुनौती थपिएको छ। अब यो विषयमा गाउँपालिकाको बैठकले के निर्णय गर्छ भन्ने प्रतीक्षा गरिँदैछ।