रौतहट । रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं. ७, सखुआवा धमौरा स्थित बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरूका लागि यातायात खर्च तथा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार स्वास्थ्य संस्था प्रमुख ईद महम्मद मंसुरको अध्यक्षतामा आयोजित कार्यक्रममा बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो।
नगर प्रमुख कुर्मीले ६८ जना सुत्केरी महिलाहरूलाई गर्भावस्थामा गराइएको स्वास्थ्य जाँच बापत नेपाल सरकारबाट प्रदान गरिने यातायात खर्च हस्तान्तरण गर्नुभएको छ। त्यस्तै, नगरपालिकाको तर्फबाट प्रत्येक सुत्केरी महिलालाई एक–एक करेट अण्डा प्रदान गरिएको छ।
नगर प्रमुख कुर्मिले आफ्नो नगरका कुनै पनि गर्भवती महिलाहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको र आवश्यकता परे घरबाटै अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको बताउनुभयो।
यस सराहनीय कार्यले स्थानीय जनतामा खुसीको माहोल सिर्जना गरेको छ। महिलाहरूले नगर प्रमुख कुर्मिको नेतृत्वको खुलेर प्रशंसा गर्दै नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गरेका छन्।