रौतहट – गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता गराउने अभियानअन्तर्गत विद्यालयको अतिक्रमित जग्गा खाली गराएका छन्।
नगरपालिका अन्तर्गत वार्ड नं. ९ रघुनाथपुरस्थित श्री माध्यमिक विद्यालय नयाँ गमहरियाको नाममा रहेको ०-६-५ धुर क्षेत्रफलको जग्गा करिब ६७ वर्षदेखि स्थानीयहरूले अतिक्रमण गरी थाइ रूपमा घर निर्माण गरेका थिए। विद्यालय व्यवस्थापनले यस विषयमा पटक–पटक पहल गरे पनि कुनै समाधान हुन सकेको थिएन।
नगर प्रमुख जैसवालले स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको सहयोगमा डोजर लगाई उक्त जग्गा खाली गराएका छन्। नगर प्रमुखको यो कदमलाई विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजकुमार दास र प्रधानाध्यापक राम आधार पासवानले हृदयदेखि सराहना गरेका छन्।
यस कार्यले विद्यालयलाई आफ्नो सम्पत्ति फिर्ता गर्न सहयोग पुगेको छ भने नगर प्रमुखको दृढ नेतृत्वको प्रशंसा भइरहेको छ। यसअघि पनि नगर प्रमुख जैसवालले जनहितका कार्यमा सक्रिय भूमिका खेल्दै आएका छन्।
उक्त कार्यले नगरवासीहरूबीच सकारात्मक सन्देश प्रवाह गरेको छ। लामो समयदेखि थाती रहेको समस्यालाई समाधान गरेर नगर प्रमुख जैसवालले आफूलाई “दोस्रो बालेन” का रूपमा प्रस्तुत गर्न सफल भएका छन्।