बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचना जारी

166

रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि एकपटक पुनः सूचना जारी गरेको छ। नगरपालिकाले पटक-पटक सूचना जारी गर्दै अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिरहेको छ।

नगरपालिकाका अनुसार सार्वजनिक जग्गाको अतिक्रमणका कारण बाटो साँघुरो भएको र त्यसले पैदल यात्रु तथा सवारी साधनका लागि गम्भीर समस्या उत्पन्न गरिरहेको छ। यसले दुर्घटनाको जोखिम पनि बढाएको छ। नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका पक्की घर, पराल, नाद, खुट्टा, गोबर तथा अन्य अवैध संरचनाहरू तत्काल हटाउन अनुरोध गरेको छ।

नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले भने, “सार्वजनिक जग्गा खाली गरेर जिम्मेवार नागरिक बन्न सबैलाई आग्रह गर्दछु। यो हाम्रो सामूहिक दायित्व हो, जसले सडकलाई फराकिलो बनाउँदै नगरलाई व्यवस्थित र सुरक्षित बनाउँछ।”

स्थानीय बासिन्दाले यस कार्यमा सहयोग गरेमा नगरपालिकाको योजनाले सबैलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ। अतिक्रमण हटाएर सडक चौडा बनाउने यो कदमले दुर्घटना न्यूनिकरण र यातायात व्यवस्थापनमा टेवा पुर्याउने विश्वास गरिएको छ।