पोखरा, पुस २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
संगठित रुपमा सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा उनीहरू कास्की प्रहरीको हिरासतमा छन् । असोज ६ मा पक्राउ परेका जोशीलाई नवौंपल्ट र कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई आठौंपल्ट म्याद थप भएको हो ।
जोशी पक्राउ परेको दिनलाई आधार मानेर सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने प्रावधानअनुरुप अन्तिमपल्ट चार दिनको म्याद थपिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ । मंगलबार सरकारी वकिल र रवि लामिछानेका निजी कानुन व्यवसायीले म्याद थपको पक्ष र विपक्षमा बहस गरेका थिए ।