दिलिप पाण्डे रौतहट । बारा जिल्ला अन्तर्गत गढीमाईको दर्शन गरेर फर्किदै गरेका स्कारपियो मंगलवार विहान रौतहटमा दुर्घटना हुँदा सात महिला र चालकसहित ८ जनाको मृत्यु भएको छ । स्कारपियो दुर्घटनामा पाँच जना गम्भीर घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ४ धनसर पुल नजिकको जंगलमा बा १६ च ३१६२ नम्वरको स्कारपियो दुर्घटना हुँदा सात जना महिला सहित आठ जनाको मृत्यु भएका हुन् । महागढीमाई नगरपालिका १ बरियारपुरमा लागेका विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाबाट सिरहा तर्फ जाँदै गरेका दर्शनार्थी सवार स्कारपियो अनियन्त्रित भई दुखद दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर सिरहा जिल्लाको अर्नमा गाउँपालिका वडा नम्वर ३ बंठियाटोलका ६० बर्षिय लरुवती देवी महरा, ३० बर्षिया उर्मिदा महरा, ५० बर्षिया रामकुमारी महरा, ५५ बर्षीइा महगी देवी महरा, ६२ बर्षीया फुलमन्ति देवी चमार, ६० बर्षिया रामकुमारी देवी महरा, ३० बर्षीया सकुन्तला देवी महरा र सोही गापा ५ बलुवाटोलका ४० बर्षीय चालक श्रीकुमार यादवको मृत्यु भएको इलका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
अर्नमा गाउँपालिका वडा नम्वर बठियाटोलका ३ की ३० वर्षीया राधा राम, उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा–३ कै ६० वर्षीया कन्यादेवी महरा गम्भीर घाइते भएको हुँदा उनीहरुको हाइवे ट्रम्मा अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।
विहानको समयमा हुस्सु लागेको र तिव्र गतिमा गुडिरहेका स्कारपियो अनियन्त्रित भई धन्सारपुल नजिक जंगलमा सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।