रौतहटको परोहामा कृषि मिटरको महसुल र ग्यास चुल्हो विवरण गरिने

161

रौतहट । रौतहटको परोहा नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ ।
किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने परोहा नगरपालिका नगरप्रमुख शेख वकिलले जानकारी दिए । नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन् ।
किसानले उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताए । सिँचाइ गर्न डिजेलपम्प चलाउँदा मर्कामा परेका थियौँ, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो । परोहा नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीयले बताए । यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उनको भनाइ छ ।
साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने परोहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अब्दुल रब अन्सारीले जानकारी दिए । उनले भने, “सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ ।”
त्यस्तै चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रत्येक घर धुरीलाई धुवाँ रहित भान्सा निर्माण कार्यक्रम अन्तर्गत ग्यास चुलो सेट वितरणको लागि नामावली छनोट गरी सात दिनभित्र बुझाउन वडा कार्यालयलाई निर्देशन समेत दिइएको उनले बताए ।
परोहा नगरपालिका– २ जिगडवा बेलबिछबा, वडा नम्बर ३ तेजापाकड, वडा नम्बर ४ लौकाहा, वडा नम्बर ५ नमनगरा,वडा नम्बर ६ बसन्तपटी, वडा नम्बर ७ नरकटिया, वडा नम्बर ८ नरकटिया, वडा नम्बर ९ रामपुर खाप लाइ कुनै पनि घर नछुट्ने गरी विवाद रहित यथार्थ विवरण सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अब्दुल रब अन्सारीले जानकारी दिए । गएको असार १० गते सम्पन्न भएको नगर सभामा घोषणा गरिएको कृषि मिटर महसुल कार्यक्रम नगरप्रमुखले चालु आर्थिक वर्षको पहिलो महिनामा नै कार्यान्वयन गर्न लागेका हुन् ।