चारजना मन्त्रीको नाम चयन गर्न व्यस्त

774

काठमाडौं २० असोज। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् । पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने जानकारी गराएको सो पार्टीका नेता रामसहाय यादवले बताए ।कार्यकारिणी समिति सदस्य समेत रहेका नेता रामसहाय यादवले पार्टीका अन्य नेताको नेतृत्वमा सरकारमा पठाउने आफू सरकार बाहिर रहेर काम गर्ने प्रष्ट पारेको बताए ।

मधेश आन्दोलनपछि पार्टी जतिपटक सरकारमा सहभागी भयो त्यति पटक यादव आफ्नै नेतृत्व गरेर गएका थिए । जसपा नेपालले चारवटा मन्त्रालय पाएको छ । त्यसका लागि चारजना मन्त्रीको नाम चयन गर्नुपर्ने जिम्मेवारी पनि यादवको काँधमा छ । समावेशी, क्षेत्र, भूगोल, लिंग, पार्टीमा योगदानलगायतका विषयलाई ख्याल गरि मन्त्री छनौट गर्न बैठकले सुझाव दिएको छ । जसपा नेपालको भागमा भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय परेको छ ।

चारवटा मन्त्रालयका लागि मन्त्रीका आकांक्षीहरु धेरै छन् । कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव वा राजेन्द्र श्रेष्ठमध्ये एकजनाको नेतृत्वमा पार्टी सरकारमा जाने छलफल भइरहेको छ । यद्यपी पार्टीका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाउन् भन्ने पक्षमा रहेका छन् ।  चुनावी सरकार भएको हुनाले शीर्ष नेताहरु सरकारभन्दा बाहिर रहेर काम गर्नुपर्ने उनीहरुको धारणा छ । 

मन्त्रीका आकांक्षीमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, प्रदीप यादव, इस्तियाक राइन, प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, रेणुका गुरुङ, अमृता अग्रहरि, डा.सुरेन्द्र यादवलगायतका सांसदहरु रहेका छन् । उनीहरु मध्येबाट यादवले परामर्श गरेर मन्त्री छान्नेछन् । 

राताेपाटीबाट सभार गरिएकाे छ ।