सीमा क्षेत्रका नागरिक संग अन्तरक्रिया र सरसफाई कार्यक्रम संचालन

79

रौतहट । सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकहरु संग अन्तरक्रिया गर्दै दशगज्जामा सरसफाई कार्यक्रम संचालन गरियो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटद्धारा इशनाथ नगरपालिकाको नेपाल भार दशगज्जा क्षेत्रमा मंगलवार आयोजित अन्तरक्रिया कार्यक्रममा इशनाथ नगरपालिकाको नगरप्रमुख कौशल्या देवी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, वडा नम्वर १ का अध्यक्ष विगु साह बनिया, भारतिय सशस्त्र सीमा बल ५५८ को प्रतिनिधि, भारत घोडासहान ब्लक अन्तर्गत ग्राम पंचायत बलुआका मुखिया मोहम्मद फारुक आलम सहितका नेपाल भारत दुवै तर्फका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहामा आयोजित अन्तरक्रिया कार्यक्रममा दशगज्जा क्षेत्रलाई सरसफाई गरेर सफा राख्नुपर्ने, अब सुरु हुने मनसुनी बर्षातबाट बर्षेणी हुने गरेका बाढी र डुवानबाट उत्पन्न हुने जोखिम तथा त्यसको समाधानका उपायहरू लगायत बिपदको समयमा फैलन सकने बिभिन्न प्रकारका रोग तथा सुरक्षात्मक उपायहरु सन्दर्भमा दुबै देशका सीमा क्षेत्रमा व्यापक रुपमा जनचेतना एवं सहकार्य गर्नुपर्नेमा दुबै तर्फका प्रतिनिधिहरुले जोड दिए ।

सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले बर्षातको समयमा बर्षाको पानी र बकैया नदीमा आउने बाढीले गर्दा इशनाथ नपा १ बन्जरहा बर्षेणी डुवानको समस्या झेल्दै आएको चर्चा गर्दै सोको दिर्घकालिन रुपमा निकासको लागि यथोचित कदम चाल्नुपर्ने बताए । सीमा क्षेत्रमा हुने गरेको अवाञ्छित गतिविधि माथि निगरानी राख्न तथा राजस्व छलेर सहजै नेपाल प्रवेश गर्ने कार्य समेत निरुत्साहित हुने भएको हुँदा सशस्त्र प्रहरी बलले सीमाको नागरिक संग अन्तरक्रिया कार्यक्रम गर्दै जागरुक बनाउदै आएको उनले बताए ।

साथै दशगज्जा क्षेत्रमा रहेका फोहोरको डुुंगुरलाई सफाई गरी सधै सफा राखिने प्रतिबद्धता जनाइयो । विओपी ऑरैयाबाट गरेर ४५ जना सशस्त्र प्रहरी, नेपाल प्रहरीको ३ जना, भारतिय सशस्त्र सीमा बल (५५८) को तर्फबाट १४ जनाको साथै दुबै देशका सीमा क्षेत्रमा बसोबास गर्नें स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थिति रहेको सशस्त्र प्रहरी बल नेपाल, नम्वर ११ गणले जनाएको छ ।

सीमा स्तम्भ नम्बर २३४६÷६ देखी सहायक सीमा स्तम्भ नम्बर ३४६÷७ सम्म अन्दाजी ८०० मिटर नेपाल–भारत दशगजा सीमा क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरियो ।