विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा ४ पक्राउ

279

रौतहट १८ असार । विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

रौतहटको गरुडा नगरपालिका-४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा संचालन गरेको कवाडी पसलबाट ट्रान्सफर्मरका तार लगायतका सर-सामानहरु बरामद भएपछि ट्रान्सफर्मर चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ का ४२ वर्षीय अशोक साह, कटहरिया नगरपालिका १ का ४६ वर्षीय रामलाल महतो, ३६ वर्षीय वीरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन्।

प्रहरीले स्प्रिङ जस्तो बटारिएको अवस्थामा १७५ किलो ७०० ग्राम तामाको १५ थान चुरी, विभिन्न आकारको तामाको क्वाइल रोल १२९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलो पनि बरामद गरेको छ।

जिल्लाको विभिन्न स्थानहरूको खुल्ला तथा एकान्त ठाउँमा जडान गरिएका ट्रान्सफर्मरहरुबाट आर्थिक लाभ लिने उद्देश्यले सिलसिलेवार रुपमा चोरी गर्ने क्रम बढेको थियो। जिल्लाको विभिन्न ठाउँमा एकै प्रकृतिका चोरीका घटनाहरुमा वृद्धि भएपछि प्रहरीको ध्यान गएको हो।

खोजतलासको क्रममा कवाडी पसलमा ट्रान्सफर्मरका सामानहरु बरामद भएपछि प्रहरीले ट्रान्सफर्मर चोरी गर्नेलाई समात्न सजिलो भएको हो।

पक्राउ परेका चारै जनालाई रौतहट जिल्ला अदालतमा बुझाएर म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजी पनि प्रहरीले गरिरहेको जनाएको छ।