नक्कली नोटसहित दुई जना पक्राउ

114

रौतहट // रौतहटको चन्द्रपुर नगरपालिका– १० बालचनपुरबाट एक हजार दरका १३ थान नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका– ८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुलहक दर्जी रहेका छन् । उनीहरूलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमार्फत नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली खटिएको थियो । बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा पेट्रोल हाल्दै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकलको सिट कभरभित्र उक्त नक्कली नोट ल्याएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।