महिला भलिबल टोली नगद पुरस्कारसहित सम्मानित

1053
फाइल तस्बिर

काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरिएको छ । 

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको उपाधि जित्नेवित्तिकै सरकारले भलिबल टोलीलाई नगद पुरस्कारको घोषणा गरेको थियो । सरकारले खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई तीन लाख नगद पुरस्कार दिएको छ । 

कार्यक्रममा भलिबल टोलीकी कप्तान अरूणा शाहीले खेलकुदको पूर्वाधार तथा खेलाडी सेवा सुविधामा वृद्धि गर्नका लागि अनुरोध गरेकी थिइन् । उनले खेलका दौरान घाइते भएकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले  उपलब्ध गराउन अनुरोध गरेकी थिइन् । 

विश्व ब्याडमिन्टनको वरीयातामा शीर्ष स्थानमा रहन सफल प्रीन्स दाहाल र साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरिएको थियो । 

सरकारले फुटबल टिमलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अल्मुताइरीलाई सरकारले आज सम्मान गरेको हो । फुटबलको पनि खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले यो पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको बताए । उनले नेपाललाई विश्व समुदायको जनस्तरसँग जोड्न खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए । मन्त्री गहतराजले भलिबलको कभर्डहल निर्माण गर्नका लागि आगामी बजेटमा सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका थिए । 

उनले खेलकुद विकासका लागि प्रधानमन्त्री र आफ्नो ट्युनिङ मिलेको बताए ।