निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवार मनोनयन दर्ता

1150

उम्मेदवार मनोनयन दर्ताका लागि शनिबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित हुने १३ पदाधिकारीसहित कुल एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार साँझ मतदाताको अन्तिम नामावली (चार हजार ७४३ जना) प्रकाशित भइसकेको छ । शनिबार उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय शनिबार साँझ ७ देखि ९ बजेसम्म हुनेछ । उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबार राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२:१५ बजे र मतदान सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

कांग्रेसले केन्द्रीय पदाधिकारीको निर्वाचनका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ । मतदानका क्रममा सयभन्दा बढी उम्मेदवार रहने भएकाले मतदान गर्न एक व्यक्तिलाई एक घन्टाभन्दा बढी समय लाग्ने अनुमान छ । शनिबार उम्मेदवारी प्रक्रिया टुंग्याइनेछ भने आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । भृकुटीमण्डपमा उद्घाटन गरेपछि केन्द्रीय पदाधिकारीका लागि मतदान भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा गर्ने कार्यतालिका छ । 

मतदान समाप्त भएपछि सभापति पदको मतगणना हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिनेछ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस महाधिवेशनमा चार हजार सात सय ४३ मतदाता
कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार सात सय ४३ मतदाता तय भएका छन् । कांग्रेसको निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार साँझ महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ ।

काठमाडौँ समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अन्तिम नामावली सूचीमा देशभरिबाट निर्वाचित प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या चार हजार सात सय ४३ पुगेको हो ।

यसअघि बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।