सीके राउतद्वारा आन्दोलनको घोषणा

777

रौतहट ।। सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट निर्णय भएर सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको आन्दोलनका घोषणाबारेको राउतको ४ पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको भन्दै त्यसको विरोध गरिएको छ । यस्तै पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग पनि गरिएको छ । 

यस्तै विज्ञप्तिमा जनकपुरस्थित पार्टी कार्यालयको साइनबोर्डमा भएको आगजनीमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई राउतले ४८ घण्टाको अल्टिमेटम दिएका छन् भने भ्रष्टाचारमा संलग्न प्रदेश २ का जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाउन अख्तियारसँग माग समेत गरेका छन् । 

राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरूमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने तय गरिएको छ । 

यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरुको गरेर माग जनतासमक्ष जानकारीहरु गराउने तथा सर्वपक्षीय जनआन्दोलनको तय समेत गरिने राउतले बताएका छन् । 
पछिल्लो समय राउतले भ्रष्टाचारविरुद्ध गतिविधि सञ्चालन गर्दै आएका छन् भने सोही क्रममा जनकपुरमा कर्मचारीलाई अर्धनग्न बनाएर राउतका कार्यकर्ताले बजार घुमाएका थिए ।