रौतहट ८ साउन — फोनबाट चन्दा माग्ने र नदिएको खण्डमा अपहरण गरी ज्यान मार्ने धम्की दिँदै आएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
रौतहट र सर्लाहीका उद्यमी, व्यापारी, शिक्षकलाई धम्क्याउँदै चन्दा मागेको आरोपमा इलाका प्रहरी गरुडाले गढीमाई नगरपालिका-३ गमहरियाका जयकिशुन ठाकुर र सर्लाही धनकौल गाउँपालिका-७ बैरियाका २८ वर्षीय मुकेश यादवलाई पक्राउ गरेको हो ।
‘विभिन्न व्यक्तिसँग चन्दा माग्ने र नदिएपछि हत्या गर्ने धम्की दिँदै आएपछि निगरानी बढाएका थियौं,’ गरुडाका डीएसपी ज्ञानकुमार महतोले भने,‘चन्दाको रकम लिन आउने बेला दुवै पक्राउ परे ।’
सर्लाही रामनगर गाउँपालिका २ धनकौल मावि छौटौलका प्रधानाध्यापक अशोक साहसँग उनीहरुले फोनमार्फत धम्की दिँदै ६ लाख मागेको प्रहरीको भनाइ छ ।
दुवैले यसअघि सर्लाही बरहथवा बजारका ग्याास डिलर तथा जग्गा कारोबारी रामदेव यादवलाई पनि धम्क्याउँदै १५ लाख रुपैयाँ मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरुको साथ मोटरसाइकल,४ थान सिमकार्ड पनि बरामद गरेको छ । पक्राउ परेका ठाकुर चन्द्रपुर १० बाल्चनपुर चोकमा ग्रील उद्योग सञ्चालन गर्दै आएका थिए । यादव बाल्चनपुर चोकमै एक पोलिक्लिनिकमा काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।