रौतहटमा शुक्रबार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा ४ जना सशस्त्र प्रहरी घाइते

3579

राैतहट, ६ बैशाख । रौतहटमा शुक्रबार राति लगभग ९ बजेकाे करिबमा आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । भारतीय सीमानासँगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवलदार सहित ४ जना प्रहरी घाइते भएका हुन् ।

असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएका सशस्त्र प्रहरी वल ११ नम्बर हेडक्वाटर गाैरका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविराज कर्णजीतले जानकारी दिनुभयाे ।

उहाँले साे पाेष्टमा रहेकाे एउटा व्यारेक पूर्ण रूपमा ढल्दा घाइते भएका चारजनाको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुँदै गएको जानकारी दिनुभयाे । उहाँले शुक्रबार रातिकाे हावाहुरीले जिल्लाका अन्य स्थानमा रहेका पाेष्टहरूमा पनि सामान्य क्षति पुर्याएकाे बताउनुभयो ।

बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् । बजेटको अभावमा लामो समयदेखि उक्त घरको मर्मत नहुँदा हावाहुरीले भत्किएको स्थानीय पत्रकार आदर्श उपाध्यायले बताउनुभयाे । देश र जनताको सुरक्षामा अहाेरात्र खटिने सुरक्षाकर्मीलाई सुरक्षित राख्न राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

लकडाउन अवधिमा बाेर्डरकाे सुरक्षा चुनाैतिपूर्ण रहेको भन्दै जिल्लामा सशस्त्र प्रहरीले अस्थायी पाेष्ट र गस्तीहरू थप गरेको छ । जिल्लामा अहिले ४२ वटा सशस्त्रकाे गस्ती टाेलीले बाेर्डरमा २४ सै घण्टा नियमित गस्ती गर्ने गरेका छन् । तर उनीहरूलाई सुरक्षितसँग बस्न वासस्थानकाे व्यवस्था नहुँदा यस्ता दुर्घटना हुने गरेका छन् । जनताको सुरक्षामा अहाेरात्र खटिने सुरक्षाकर्मीकाे पनि सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।

www.news24nepal.tv