कोरोना भाइरसको संक्रमणको मध्य नजर राख्दै जिल्ला विपद व्यवस्थापन समितिद्धारा ९ बुंदे निर्णय

1394

प्रभातकुमार झा रौतहट, १० चैत । कोरोना भाइरसको महामारीलाई मध्य नजर राख्दै जिल्लाको सम्पूर्ण बजारहरु बन्द गर्ने र प्रत्येक स्थानीय तहमा ५० देखि १०० बेड सम्मको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने सहितको ९ बुंदे निर्णय सोमवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समितिका संयोजक बासदेव घिमिरेको अध्यक्षतमा जिल्लाको १८ वटै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, सुरक्षा निकायको प्रमुखको रोहवरमा उक्त निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
कोरोना भाइरसको प्रकोपबाट रौतहटबासीलाई कसरी जोगाउन सकिने विषयमा गम्भिर छलफल गरिदा जिल्लाको प्रत्येक स्थानीय तहमा ५० देखि १०० वेडको क्वारेन्टाइन अविलम्ब तयार पार्ने परिस्थिति विग्रनु अघि थप क्वारेन्टाइनको लागि सम्भाव्यता अध्ययन गरेर राख्ने, कोरोना भाइरसबाट सर्वसाधारणलाई संक्रमणबाट बचाउन जिल्लाको विभिन्न स्थानहरुमा लाग्ने हाट बजारहरु अर्को सुचना नआए सम्मको लागि बन्द गर्ने, स्थानीय तहमा विपद व्यवस्थापन एवं प्राकृतिक व्यपस्थापनमा बजेट अभाव भएमा कोरोना भाइरसका निमित्त अन्य शिर्षकबाट बजेट छुट्याउने निर्णय भएका छन् ।

यसैगरी जिल्लामा भिडभाड हुन नदिने र अत्यावस्यक बाहेकका पसलहरु बन्द गराउने, विहेवारी, धार्मिक कार्यक्रम, राजनितिक भेला, अन्य सभा गोष्ठि अर्को सुचना नभए सम्म बन्द राख्ने, कोरोना भाइरस संक्रमण सम्बन्धी जानकारी सामाजिक संजाल मार्फत नदिई आधिकारीक रुपमा पुष्टि गर्ने निकायबाट भएपछि मात्रै प्रकाशन एवं प्रशारणगर्ने, प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट कोरोना भाइरस विरुद्धका क्रियाकलापमा खर्च गर्ने, कोरोना भाइरसका विरुद्धमा संचालित क्रियाकलापको बहानामा उपभोग्यका सामानहरु अनाधिकृत संचित गर्ने तथा कृत्रिम अभाव गर्नेहरुलाई कारवाही गर्ने, सिमापारबाट आवतजावत हुने कार्यलाई २४ सौं घण्टा बन्द गर्न व्यापक सुरक्षाकर्मी परिचालन गर्ने जस्ता निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटको नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।
सो वैठकमा नगरप्रमुखहरु अजय गुप्ता, धिरेन्द्र सिह, सन्तोष मेहता, शकिल अहमद, शेख वकिल, रामचन्द्र चौधरी, विरेन्द्र यादव, श्यामप्रसाद यादव, रामस्नेही यादव, सन्तलाल चौधरी, गोपाल यादव, सियाराम कुश्वाहा, रिनादेवी साह, धर्मेन्द्र पटेल, राजिवरंजन यादव, इन्नुराय यादव, गाउपालिका प्रमुख अरुणकुरमा साह र श्रीप्रकाश मुखियाको उपस्थिति रहेको नायव सुब्बा साहले दिए ।