कोरोना भाइरस (कोभिड–१९) का शंकाष्पद बिरामी राख्नको लागि क्वारेन्टाइन बनाउने घोषणा ; नगर प्रमुख गुप्ता

1248

रौतहट, १० चैत्र । रौतहटको गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताले आफ्नो होटेल क्वारेन्टाइन बनाउने घोषणा गर्नुभएको छ । गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा रहेको ‘सिया प्यालेस’ होटेललाई कोरोना भाइरस (कोभिड–१९) का शंकाष्पद बिरामी राख्नको लागि क्वारेन्टाइन बनाउने घोषणा गर्नुभएको हाे । उक्त हाेटेलमा जम्मा ४० बेड छन् । कसैलाई कोरोना भाइरसको संक्रमणको शंका लागेमा र क्वारेन्टाइनमा राख्नुपरेमा उक्त हाेटेल प्रयोग गर्न सकिने नगर प्रमुख गुप्ताले बताउनुभयो ।

‘सिया प्यालेस’ होटेल

गुप्ताले पूरा विश्व कोरोनाको संकटमा लडिरहेको बेला आफूले व्यक्तिगत तर्फबाट पनि यसमा उत्तरदायित्व निभाउन यो निर्णय गरेको बताउनुभयो । नगरप्रमुखको रुपमा कोरोनाविरुद्ध लड्न समग्र नगरवासीको हितमा काम गरिरहेको भएतापनि व्यक्तिगत रुपमा पनि केही गर्नुपर्छ भन्ने सोचले यो निर्णय गरेको उहाँको भनाइ छ । उहाँले सो होटलको व्यवस्थापनको सम्पूर्ण अधिकार आज (साेमबार)देखि प्रमुख जिल्ला अधिकारीलाई दिने र स्थानिय प्रशासनले आवश्यक परेको दिनसम्म सो होटलमा क्वारेनटाइन बनाउन सक्ने जानकारी दिनुभयो ।

क्वारेन्टाइन बनाउन स्थानिय प्रशासनलाई हस्ताण्तरण गरेपछि त्यसलाई कुन ढंलले संचालन गर्ने बारेमा सम्पूर्ण निर्णय स्थानिय प्रशासनमा निहित रहेको र परेको खण्डमा गौर नगरपालिका र आफुले सकेको सहयोग प्रदान गर्ने गुप्ताले प्रतिवद्धता गर्नुभयो । यस्तो संकटको घडीमा सबैले सकेको सहयोग गर्नुपर्छ’ गुप्ताले भन्नुभयो, ‘मैले पनि सानोभएपनि आफ्नो व्यक्तिगत तर्फबाट योगदान गरौँ भनेर यो निर्णय गरेको हुँ । यो समय एकजुट भएर कोरोना विरुद्ध लड्ने समय हो ।’

होटलमा बेड, किचन, ट्वाइलेट, वाथरुम लगायत सम्पूर्ण सुविधा भएकाले यसलाई तुरुन्त क्वारेन्टाइन बनाएर संचालन गर्न सकिने बताउँदै उहाँले कोरोनाबाट त्रसित नभइ एकजुट भएर लड्न सबैमा आग्रह गर्नुभयो ।