रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई पक्राउ

1353

प्रभातकुमार झा// रौतहट// नेकपा विप्लव समुहका रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई रौतहट प्रहरीले शुक्रवार राति पक्राउ गरेका छन् ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई प्राप्त जानकारीको आधारमा प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नपा ३ महादेव डाँडा अल्लाजोर स्थानमा गएराति १०.३० बजेको समयमा ३९ बर्षिय जिल्ला इन्चार्ज कुमार राई भन्ने मान कुमार राईलाई पक्राउ गरेका हुन् ।

राई पक्राउ परेकै स्थानबाट बाग्लुंग जिल्ला ढोरपाटन नपा २ वुर्तिवांग बस्ने विप्लव युवा संघका रौतहट जिल्ला अध्यक्ष बर्ष ३८ का जगत भन्ने कमल गुरुंगलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएका छन् ।

शनिवार विहान इप्रका चन्द्रपुरमा पत्रकार सम्मेलन मार्फत पक्राउ परेका विप्लवका जिल्ला इन्चार्ज राईलाई सार्वजनिक गर्दै प्रहरी नायव उपरिक्षक शाहीले पछिल्लो दिनहरुमा रौतहटका सवै स्थानीय तहहरुमा चन्दाको लागि धम्की दिने, ज्यान मार्ने धम्काउने, अपराधिक क्रियाकलापमा संलग्न रहेको तथा उत्तरी भेगको विभिन्न सरकारी सम्पतीमा विस्फेटक पदार्थबाट उदाउने जस्ता क्रियाकलापमा संल्गन रहेको उनले भने ।

अल्लाजोरबाट पक्राउ परेको घरमा खानतलासी गर्दा प्लास्टिकको हैण्ड ग्रिनेड एक थान, नलकटुवा पेस्तोल १ थान, नल कटुवा पेस्तोलमा लाग्ने जङ्गी राउण्ड २ थान, बिभिन्न कम्पनीका मोबाईल ७ थान, हेमन्त प्रकाश ओली (सुदर्शन) द्वारा लिखित विश्व दृष्टिकोणमा रुपान्तरणनामक पुस्तक १ थान र अखिल नेपाल महिला संघ क्रान्तीकारी, केन्द्रीय समिति द्वारा जारी अपिल पत्र फेला परेको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा जिल्ला अदालतबाट म्याद थप गरेर हातहतिया तथा विस्फोटक पदार्थ तर्फ मुद्दा चलाउने चयारी भईरहेको छ । हातहतियारको हकमा मुलुकी अपराध संहिता २०७४ को भाग २ को परिच्छेद ६ हातहतियार तथा खरखजाना सम्बन्धि कसुरको दफा १३२ (१) बमोजिमको कसुरमा सोही दफाको उपदफा (२) बमोजिम ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने ।

हैण्ड ग्रिनेडको हकमा मुलुकी अपराध संहिता २०७४ को भाग २ को परिच्छेद ७ बिष्फोटक पदार्थ सम्बन्धि कसुरको दफा १३९ (१) बमोजिमको कसुरमा सोही दफाको उपदफा (२) (क) बमोजिम १० बर्ष सम्म कैद र १ लाख सम्म जरिवाना हुने प्रावधान रहेको डिएसपी शाहीले बताए ।